डेढ महिनापछि बैतडीको हवाई सेवा सञ्चालनमा

| 2022 Feb 19 | 01:27 pm 1305

बैतडी, फागुन ७ः डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ। गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो।

मौसम खराब र यात्रु नपाउँदा डेढ महिनादेखि बन्द रहेको हवाई सेवा सञ्चालनमा आएको समिट एयरका पाटन विमानस्थल सम्पर्क व्यक्ति कृष्ण भट्टले जानकारी दिए। उनले भने, ‘यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा हुन सकेको थिएन, मौसम सुधार भएपछि सञ्चालनमा आएको छ।’ धनगढीबाट १३ यात्रु लिएर आएको र यहाँबाट १८ यात्रु लगेर जहाज गएको भट्टको भनाइ छ।

साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको छ। गएको डेढ महिनामा तराईमा हुस्सु नै  पडाडमा वर्षा र हिमपातले गर्दा उडान हुन नसकेको हो।

मौसम सफा हुँदै गएकोले अबदेखि साताको एकदिन शुक्रबार नियमित उडान हुने जनाइएको छ। गत वर्ष पनि एक महिना खराब मौसमका कारण हवाई सेवा बन्द भएको थियो।

पाटन विमानस्थल २६ वर्षपछि विसं २०७७ असोज अन्तिम साताबाट पुनः सञ्चालनमा आएको थियो। विसं २०३२ मा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो। पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो। त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.