डेढ महिनाअघि नै काठमाडौंमा डेंगु

रिपोर्ट नेपाल | 2022 Aug 25 | 07:46 am 1485

काठमाडौं, भदाै ९ः दशैं–तिहारताका फैलने गरेको डेंगु यसपालि डेढ महिनाअघि नै फैलिएको छ । सरुवारोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगुले मानिसलाई मारी नै हाल्ने नभए पनि शारीरिक पीडा भने अत्यधिक दिन्छ ।

उनले सन् २०१९ मा झै डेंगु अहिले पनि फैलँदै गरेको जिकिर गर्दै डेंगुको विषयमा नेपाल सरकारले विशेष ध्यान दिने बेला आइसकेको बताए । सरकारले डेंगु नियन्त्रणमा पहिला नै तयारी गर्नुपर्नेमा अहिलेसम्म पनि गम्भीर हुन नसकेको डा. पुनको भनाइ छ । काठमाडौंमा मात्र १ हजारभन्दा बढी डेंगुका बिरामी हुनसक्ने उल्लेख गर्दै उनले भने– ‘कतिपयले अस्पताल नै नआई नजिकैको औषधि पसल, क्लिनिक, निजी अस्पतालमा गएर उपचार गराएको हुन सक्छ । यस्तो अवस्थामा अध्ययन अनुसन्धान हुन सकेको छैन ।’

पहिला तराई क्षेत्रमा मात्र फैलिने गरेको डेंगु अहिले काठमाडौंमै महामारीका रूपमा फैलँदै छ । डेंगु नियन्त्रणका लागि सरकार र नागरिक दुवै सजक हुनुपर्नेमा उनले जोड दिए । डेंगु रोग बढ्नुको कारक तत्वमा काठमाडौंको फोहोर व्यवस्थापन हुन नसक्नु पनि रहेको छ । कालो–सेतो रंगको (जेब्रा) लामखुट्टेको नियन्त्रण नगरी डेंगुको समस्या समाधान नहुने बताउँदै डा. पुन भन्छन्– ‘अझै डेढ महिनासम्म डेंगु फैलिने समय भएकाले यसले पनि कोभिडले झैं गम्भीर रूप नलेला भन्न सकिन्न । डेंगो सेरो टाइप फरक हुन गयो र पुनः दोहोरिन गयो भने थप जोखिम हुन सक्छ ।’

डेंगुको लक्षणका बारेमा डा. पुनले भने– ‘लगातार ३ देखि ४ दिन अर्थात् एक सातासम्म ज्वरो आउने र जिउ असाध्य दुख्यो भने डेंगु लागेको हुन सक्छ । डेंगु लाग्दा हड्डी नै भाँचिएको झैं गरी दुख्न सक्छ । यस्तो लक्षण देखियो भने चिकित्सकको सल्लाह लिई उपचार गर्नु उपयुक्त हुन्छ ।’ सामान्य अवस्थाको ज्वरोभन्दा डेंगु ज्वरो आउँदा ज्यान असाध्य दुख्ने र काम छुट्ने गरी ज्वरो आउने हुन्छ । तर, यस्तो बेलामा चिकित्सकको सल्लाहबिना आफूखुसी पेनकिलर, ब्रुफिन जस्ता औषधिहरू खान नहुने तर सिटामोल, प्यारासिटामोलसम्म खान सकिने डा. पुन बताउछन्।

पछिल्लो समय काठमाडौंमा जनघनत्व बढ्नुका साथै ठूल्ठूला उद्योग कलकारखान खुल्ने, गाडीका ग्यारेजहरु बढ्ने, प्लास्टिकको प्रयोग धेरै हुने कारणले गर्दा लामखुटेले जमेको पानीमा सुरक्षित बास बनाउने र एक व्यक्तिलाई टोकेर पुनः अर्को व्यक्तिलाई टोक्दा डेंगु सार्ने सम्भावना बढी हुन्छ । यसको रोकथामको प्रमुख उपाय भनेको लामखुट्टेको बास नष्ट गर्ने, घरमा बस्दा पूरा शरीर ढाक्ने लुगा लगाउने र सकेसम्म झाडी र पानी जम्ने ठाउँमा नजाने नै भएको डा. पुनको भनाइ छ । यसका साथै घरमा दिउँसै सुत्दा पनि झुल लगाएर सुत्न, लामखुट्टेबाट बच्नका लागि घर वरिपरि खाल्डाखुल्डी र पानी जम्ने ठाउँ पुर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई आग्रह गरेको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.