डेढ करोड मुआब्जा वितरण

रिपोर्ट नेपाल | 2018 Oct 09 | 11:20 am 5592

दमौली, असोज २३ : एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि रु एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ ।

आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका–५ वेतेनीको ५० रोपनी जग्गाको मुआब्जा वितरण गरिएको आयोजनाका इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिए। प्रभावित ६२ परिवारमध्ये १२ परिवारले मुआब्जाबापतको रकम बुझेका छन्। आयोजनाले ५० रोपनी जग्गा अधिग्रहणका लागि रु सात करोड ७३ लाख विनियोजन गरेको छ ।

विद्युत्गृह जाने प्रवेशमार्ग तथा अन्य आवश्यक पर्ने जग्गा आयोजनाले अधिग्रहण गरेको हो । जग्गाको प्रकृति हेरेर मूल्य निर्धारण गरिएको आयोजनाले जनाएको छ । जग्गा अधिग्रहण गर्न प्रतिरोपनी रु नौ लाखदेखि रु २० लाखसम्म मूल्य निर्धारण गरिएको छ । पहिरोमा परेको जग्गाका लागि प्रतिरोपनी रु २ लाख ४० हजार निर्धारण गरिएको छ । नदी फर्काउन, बाँधलगायतको पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग रु २० अर्ब ६४ करोड ५२ लाखमा सम्झौता भएको छ ।

त्यस्तै आयोजनाको सुरुङ, विद्युत्गृह निर्माणलगायतको दोस्रो प्याकेजका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडसँग रु ३ अर्ब ८३ करोड १४ लाखमा सम्झौता भएको छ । दुवै प्याकेजको निर्माण दुई महिनापछि शुरु गर्ने र सम्पूर्ण निर्माण डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य रहेको सो आयोजनाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.