डेढ करोड ठगेर दम्पती फरार

रिपोर्ट नेपाल | 2018 Oct 12 | 08:37 am 2198

नवलपरासी, असोज २६ : पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएको छ। दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले एक करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ।

छिमेकी तथा आफन्तसहित ३२ जनाबाट विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिई सापकोटा दम्पती सम्पर्कबिहीन भएका छन्। कावासोती नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक प्रेमशङ्कर मर्दनियाले सो विषयबारे छलफल भइरहेको बताए।

सापकोटा दम्पतीले विभिन्न पसलबाट सामान खरिद गरेर रकम तिरेका छैनन्। अधिकांशले कागज नगरी सापकोटा दम्पतीलाई रकम दिएका छन्। सबैभन्दा बढी कावासोती–८ का सुनिता तिमिल्सिनाले उनीहरुलाई ३० लाख दिएका छन्।

“सापकोटा दम्पतीले छोरालाई विदेश पठाउन भनी दुई-चार दिनमै रकम फिर्ता गर्ने गरी सापटीस्वरुप रकम मागेका हुन्,” पडित तिमिल्सिनाले भन्नुभयो । केही समय अघि घर बिक्री गरेका उनले कुनै प्रमाण नराखी रकम दिनुभएको छ। यस्तै स्थानीयवासी झवकला तिवारीले सापकोटा दम्पतीलाई रु २५ लाख दिएका हुन्। यस्तै अन्यको रु ५० हजारदेखि रु १० लाखसम्म रकम लिएर सापकोटा सम्पती फरार भएका छन्।

सापकोटा दम्पतीले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोरा विदेश पठाउन, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए। “छरछिमेकमा सरसापटी चलाउनु पर्छ भन्ने सोचेर कागज नगरी पैसा दियौँ,” पीडित सुना चापागार्इंले भन्नुभयो । उहाँले सापकोटा दम्पतीलाई रु ३० लाख दिएको बताए। सापकोटा दम्पतीले कावासोतीको घर बिक्री गरी गत जेठदेखि फरार छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले लेनदेनको विषयमा आवश्यक प्रमाण नभएको खण्डमा जाहेरी लिन नमिल्ने व्यवस्था अनुसार सापकोटा दम्पती विरुद्ध जाहेरी नलिएको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.