भक्तपुर,असार २९ : बुधबार राति देखी परेको अविरल बर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी वस्तीमा पसेर बितण्डा मच्चाउदा बस्तीका बासिन्दाहरुले रात अनिदोमै बिताएका छन् ।
भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा, बालकोट, कौशल्टार सागबारीका डुबान बस्तीका पीडितले पनि अनिदोमै रात काटेका छन् ।
टिनको छाप्रोमा बसेका र अस्थायी शिविरमा बसेकामध्ये धेरैको छाप्रो बगाएको र छाप्रो बाँकी भएकाहरुको पनि लत्ताकपडा, ओढ्ने, ओछ्याउने र खाद्यान्न हिलोमा परेपछि बिचल्लीमा परेका छन् । कतिपयले खोला किनाराको आफ्नो बस्ती छाडेर छिमेकीकोमा रात बिताएका छन् भने कतिपय आफन्तको शरणमा पुगेका छन् ।
पक्की घर भएकाहरुमध्ये भुइँतलामा बस्नेहरुको अवस्था पनि उस्तै रह्यो । बाढी घटे पनि घरभित्र पसेको पानी निकाल्न नपाएपछि रातभर अनिदोमै रात बिताउनुपरेको पीडितहरुले बताएका छन् ।
कोठामा छिरेको पानी झिक्न नगरपालिकाले पानी तान्ने पम्पको व्यवस्था गरिदिए धेरैको उद्धार हुने थियो । भनेर पीडितहरुले सम्बन्धीत निकायको साहारा खोजेका छन् ।
निजी पानी तान्ने पम्प हुनेहरुले आज पानी तानेर बाहिर फ्याँके पनि पम्प नभएका धेरैको घरभित्रको पानी दह बनेर बसेको छ । सरकार अब उद्धारका लागि अघि बढ्ने हो कि जनतालाई धमिलो पानी भित्रको माछा बनाउने हो । हामीले भन्नु यति मात्र हो ।