डीडीसीले छाड्छ बस्तीमा दूषित पानी

रिपोर्ट नेपाल | 2024 Jan 29 | 09:01 am 1105

धनुषा, माघ १५। पूर्व–पश्चिम राजमार्गमै पर्छ, सुकजोर खोला। धनुषाको मिथिला–७ मा स्थित सुकजोर खोलाकै पुल छेउमा छ, सुकुम्बासी बस्ती। जहाँ ३० घर छन्। खसीबाख्रालगायतका चौपाया पालेर सुकुम्बासीले जीवन गुजारिरहेका छन्। तर, खोलाको दूषित पानीले बस्तीका खसीबाख्रा र चौपाया भटाभट मर्न थालेका छन्। त्यसैकारण सुकुम्बासी बस्तीमा भोकमरीको समस्या देखिएको छ।

जनकपुर दुग्ध वितरण आयोजना ढल्केबर (डीडीसी)ले आयोजनाबाट उत्पन्न हुने ‘दूषित पानी’ सीधै खोलामा फ्याँक्छ। डीडीसीको फोहोरले खोला त दुर्गन्धित छ नै। बस्तीमा समेत नाक थुन्नुपर्ने अवस्था छ। ‘दूषित पानीले खसीबाख्रा भटाभट मर्न थालेपछि सुकुम्बासीलाई जीवनयापन गर्न समस्या भएको छ,’ नेपाल सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघका मधेस प्रदेश अध्यक्ष शिवचन्द्र यादव भन्छन्।

आम्दानीका मुख्य स्रोत चौपाया नै भटाभट मर्दा के खाएर बाँच्ने भन्ने समस्या भएको बताउँछन्– बस्तीका ८४ वर्षीय रामविलास यादव। ‘यहाँ कसैको पनि रोजगारी छैन। हाम्रो अरू आयस्रोत पनि छैन,’ यादव भन्छन्, ‘खसीबाख्रा पालेर कमाई हुन्थ्यो, त्यसैबाट पेट भथ्र्यौं। ती नै मर्न थालेपछि कसरी बाँच्ने हो ?’

डीडीसीले खोलामा  दूषित पानी हाल्ने गरेकाले त्यो पानी खानेबित्तिकै खसीबाख्राहरू मर्ने गरेको उनले बताए। ‘त्यो(खोलाको) पानी खायो कि मरिहाल्छन्,’ उनी भन्छन्, ‘घर छेउमा खोला छ। कतिबेला खसीबाख्रा त्यहाँ पुग्छन्, थाहै हुँदैन।’ खोलाको पानी खाएपछि आफ्ना तीनवटा खसी र एउटा बाख्राको पाठी मरेको यादवले बताए।

‘अघिल्लो वर्ष त खोलाको पानी खाएर दुई/तीन दिनमा ब्याउन लागेको भैंसी पनि मर्‍यो,’ यादवले भने, ‘त्यतिबेला त मुटुमाथि ढुंगा राखेर मन बुझाएँ।’
बस्तीका रामचन्द्र महराको घर देखाउँदै रामविलासले भने, ‘उनका त १८ भन्दा बढी खसीबाख्रा खोलाको पानी खाएर मरिसके। उनलाई कस्तो भयो होला ?’

शनिबार बस्तीकी ५० वर्षीया चन्दरदेवी यादव घर अगाडि ढलिरहेको ४ महिनाको बाख्राको पाठी हेर्दै टोलाइरहेकी थिइन्। के भयो पाठीलाई भन्ने जिज्ञासामा चन्दरले भनिन्, ‘एकरा प्राण छुइट रहल है (यसले प्राण त्याग्दै छ)। धारके जहर बला पाइन पिलेल्कै आब हम कि करु केनाके बचबियै(खोलाको विषादी पानी खायो, अब म के गरूँ ? कसरी बचाऊ ?’

त्यहाँ जम्मा भएका महिलाको हुलबाट एकस्वरमा आवाज निस्कियो– ‘अयनके नेतासुनके डेरीबला दूधदही खियबै है केना क बजौ हम सब केकरा कहु (यहाँका नेताहरूलाई डेरीवालाले दूध दही खुवाउँछन्, अनि कसरी बोलुन त उनीहरू, हामीले कसलाई भन्ने ?)’

अमरेन्द्र महतो सुकुम्वासी बस्तीका समस्याबारे नेताहरूले सुन्न पनि नचाहेको बताउँछन्।  ‘धेरैपटक नगरपालिकालाई गुहारेको छु। त्यहाँका नेताहरू हामी सुकुम्बासीलाई नागरिक  नै मान्दैनन्,’ अमरेन्द्र आक्रोश पोख्छन्, ‘डेरीबालालाई भन्यो भने दिउँसो पानी हाल्न बन्द गर्छन्। तर, राति फेरि फालिहाल्छन्। न जनप्रतिनिधिले हाम्रो कुरा सुन्छन्, नत डेरीबालाले।’

दुर्गन्धका कारण बस्तीमा लामखुट्टे र सर्पको बिगबिगी बढेको अमरेन्द्र सुनाउँछन्। ‘पहिला त गन्हाउँथ्यो मात्रै,’ उनी भन्छन्, ‘नाकमुख थुनेरै सहन्थ्यौ। अब त जाडोमा पनि सर्प घरभित्रै पस्न थाले। हाम्रो त ज्यानै जोखिममा छ।’

दुर्गन्धित र दूषित पानीको विषयमा गुनासो गर्दा जनकपुर दुग्ध वितरण आयोजना ढल्केबरका प्रमुखले उल्टै राजनीतिक ‘धाक’ लगाएको कांग्रेसनिकट एक जना स्थानीय नेता बताउँछन। ‘दूषित पानीको विषयलाई लिएर डीडीसीका प्रमुख दिलीप सरलाई एक महिनाअघि फोन गरेको थिएँ,’ कांग्रेसका ती नेताले भने ।

(अन्नपुर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.