पर्वत, जेठ २ः प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न निर्देशन दिएका छन् । हालै बढुवा भएर गण्डकी प्रदेशकाे कमाण्ड सम्हाल्न पुगेका (डीआईजी) घनश्याम अर्यालले जिल्ला प्रहरी कार्यालय पर्वतको निरीक्षण गर्ने क्रममा मातहतका कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै उक्त कुरा बताएका हुन् । उनले मातहतका कर्मचारीलाई व्यवसायीक प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।
गण्डकी प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुले विश्वव्यापी रुपमा फैलिईरहेको कोरोना भाईरस संक्रमणलाई फैलन नदिन जिल्ला अन्तर्गत गरिरहका विभिन्न गतिविधिहरु, लकडाउनको कार्यान्वयन साथै जिल्लाको वर्तमान अवस्था र प्रहरी परिचालनका विषयमा जानकारी लिई आवश्यक निर्देशन दिन डीआईजी अर्याल पर्वत पुगेका हुन् ।
निरीक्षणका लागि पर्वत पुगेका डीआईजी अर्यालले जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरु, कार्यालयका विभिन्न शाखा, मेस, ब्यारेक लगायत अन्य स्रोत साधनहरुको समेत निरीक्षण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामू अर्यालले डीआईजी अर्याल समक्ष जिल्लाको शान्ति सुरक्षाको वर्तमान अवस्था, अपराधिक अवस्था लगायत कोरोना भाईरसक संक्रमण फैलन नदिन जिल्ला अन्तर्गत प्रहरीले गरिरहेका विविध गतिविधिहरुका विषयमा जानकारी गराएका थिए ।