गुल्मी, साउन १९: राधे राधे धार्मिक समितिमा आबद्ध यूवाको संस्था डिभाइन यूवा क्लबले आज शनिबार ऐतिहासिक पवित्र धार्मिक स्थल रेसुङ्गामा सरसफाइ गरेको छ ।
ऋष्य श्रृग्यं ऋषीले तपस्या गरेको ऐतिहासिक रेसुङ्गा पोखरीमा साउन महिनामा स्नान गरेमा पुन्य मिल्ने भनाइ रहेको छ । यस्तो ऐतिहासिक स्थलमा आध्यात्मीक क्षेत्रमा लागेका यूवाले सरसफाई गरेर उल्लेख्य कार्य गरेका छन् ।

क्लबका संयोजक सूर्यमान थापाको नेतृत्वमा ३२ जना यूवाले रेसुङ्गा परीसरमा रहेको यज्ञशाला, सिद्धको मन्दिर, राधाकृष्ण मन्दिर लगाएत पोखरी सरसफाई गरेका थिए ।
सामाजिक कार्य गर्नका लागि उमेर नभएर इच्छा शक्ति चाहिने विचार प्रवाह गरेका क्लबका यूवाहरुले मन्दिरमा रहेका पुजाआजा गर्ने भाडाँ वर्तन पनि सफाई गरेका थिए ।
समाजलाई रुपान्तरण गर्नका लागि पहिला आफू रुपान्तरीत हुनु पर्ने सोच राख्ने युवाहरुले यस अघि पनि थुप्रै रचनात्मक र चेतनामुलक काम गरेको गुल्मी उद्योग वाणिज्य संघका महासचिव तारा भुसालले रिपोर्ट नेपाललाई बताए ।

आध्यात्मीक चिन्तनबाट समाजको विकृती र विसंगती अन्त्य गर्न प्रतिबद्ध क्लबका यूवाहरुले आफ्नो पेट काटेर असाहय र गरीब यूवा विद्यार्थीलाई सहयोग पुर्याउदै आएका छन् ।
विद्यालयमा आफ्नो खाजाको रकम बचाएर यस क्लबमा आबद्ध यूवाहरुले विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण समेत गरी सकेका छन् । डिभाइन यूवा क्लबका कलिलो उमेरका यूवाले गरेको यस्तो प्रशंसनीय कामको सबैतिरबाट प्रशंसा भएको छ ।