डिप्रेसनका लक्षण र रोकथामका तरिका यस्ता छन्

रिपोर्ट नेपाल | 2019 Feb 22 | 04:48 pm 3216

काठमाडौं : उदास, दुःखी, बोर वा दिक्दारी अनुभव हुँदैमा डिप्रेसन भएको बुझ्न मिल्दैन। तर, यसरी उदास अनुभव हुनु मनोरोगको प्रमुख लक्षण भने अवश्य हो। मनोरोगको लक्षण मानिने उदास अनुभवलाई धेरैले रोगकै अंश हो कि प्रतिकूल परिस्थितिको स्वाभाविक प्रतिक्रिया भनी छुट्ट्याउन सक्दैनन्। जसले गर्दा समस्याको पहिचान र उपचारमा कठिनाइ हुने गर्छ।

डिप्रेसनका बहुसंख्यक रोगीमा यो समस्याको न निदान हुन्छ, न उपयुक्त उपचार नै। त्यसैले जुनसुकै समाजमा मनोरोगका बिरामीको सङ्ख्या अत्यधिक हुने गर्छ। विश्व स्वास्थ्य सङ्गठनले संसारमा मानव जातिलाई सताउने १० मुख्य स्वास्थ्य समस्यामा मनोरोगले निकट भविष्यमा नै उच्च रक्तचापलाई उछिनेर पहिलो हुने प्रक्षेपण गरेको छ।

यति भयावह अवस्थातर्फ उन्मुख हुँदा पनि मनोरोगबारे जागरुकता देखिँदैन। यसलाई प्राथमिकतामा पारिएको छैन। मनोरोगको प्रमुख हिस्साका रूपमा रहेको डिप्रेसनबारे हाम्रो समाजमा उति धेरै छलफल र बहस हुने गरेको छैन। जसको फलस्वरूप यो रोग भुसको आगोजस्तो फैलिँदै गइरहेको छ।

डिप्रेसनका धेरै रोगी सही उपचार नपाएर रोकथाम हुनसक्ने विभिन्न जटिलता भोगिरहेका हुन्छन्। यो समस्या कम गर्न सबैले मनोरोगबारे कम्तीमा आधारभूत तथ्यहरू जानी राख्नु आवश्यक छ। ‘यो त कमजोर मन भएकाहरूलाई लाग्छ, मेरो मन बलियो छ मलाई लाग्दैन’ भन्ने धेरै मानिस यसको चपेटामा परेका छन्। त्यसैले जुनसुकै समाज, वर्ग, उमेर समूहका मानिसलाई सताउन सक्ने डिप्रेसनबारे आफूले पनि जानी राखौँ र अरूलाई पनि बताऔँ।

कस्तो उदास अनुभवलाई डिप्रेसन भन्ने ?

जब कुनै व्यक्तिको उदास अनुभव आफ्नो नियन्त्रणभन्दा पर पुग्छ भने त्यो डिप्रेसनको लक्षण हो। यस्ता अनुभव कम्तीमा दुई हप्तासम्म हरेक दिन हुन थाल्यो, जति कोसिस गरे पनि उदास अनुभवले छोडेन, यस्तै अनुभवका कारण बेचैनी बढ्यो, दैनिक गतिविधिमा असर पर्न थाल्यो र अरू लक्षण पनि देखा पर्न थाले भने यसलाई सामान्य उदासीपन ठान्नु गलत हुनेछ। यस्तो अवस्थालाई डिप्रेसन भएको बुझ्न सकिन्छ।

मनोसामाजिक रूपले त्यक्त, विषम परिस्थिति र तनावग्रस्त व्यक्तिमा प्रायः  क्षणिक रूपमा र पछि रोगकै रूपमा डिप्रेसनको समस्या देखिन्छ। यद्यपि तनावरहित अवस्थाका व्यक्तिलाई पनि डिप्रेसनले सताउन सक्छ। विविध कारणले सेरोटोनिन, नरअड्रिनालिन जस्ता स्नायु रसायनको कमी, तिनले काम गर्ने विशेष अवयव (रिसेप्टर) र तिनको उत्पादन हुने प्रक्रियामा समस्या हुँदा उदासी देखा पर्छ। वंशाणुगत र जैविक जोखिमलाई मनोसामाजिक तत्त्वहरू र परिस्थितिले डिप्रेसनतिर धकेल्न बढवा दिन्छ। यसरी कुनै व्यक्ति डिप्रेसनको सिकार हुनमा मनोसामाजिक र जैविक तत्त्वहरूको अन्तरक्रिया हुने गर्दछ।

डिप्रेसनमा के–कस्ता लक्षण देखिन्छन्  ?

डिप्रेसन भएका व्यक्तिमा मानसिक, शारीरिक र सामाजिक रूपमा असर पार्ने निम्न लक्षण देखिन्छन्।

मानसिक वा मनोसामाजिक लक्षण-

  • प्रायः जसो समयमा उदास, दुःखी, बोर वा दिक्दारी रहनु।
  • दैनिक कामकारबाही र सामाजिक व्यवहार वा अरूसँगको अन्तरसम्बन्धमा रुचि कम हुँदै जानु। अरूबाट एक्लिनु वा एकान्तमा रहनु।
  • केही काम गर्ने जाँगर र आत्मविश्वास हराउनु।
  • सोच्न र सम्झन नसक्ने हुनु।
  • आफू बेकामे, बेसहारा भएको ठान्नु र भविष्य अन्धकार लाग्न थाल्नु।
  • सानातिना कुरामा अत्यधिक चिन्ता लाग्नु र छटपटी बढ्नु।
  • बाँच्ने चाहना कम भई आत्महत्याका विचार आउनु।
  • कडा खालका डिप्रेसनमा हुँदै नभएका कुरा सुन्ने, देख्ने र आभास हुनेजस्ता लक्षण देखिनु।

शारीरिक लक्षण

  • अस्वाभाविक रूपले शिथिल वा कमजोर अनुभव हुनु।
  • भोक कम वा ज्यादा हुनु र त्यसैअनुसार तौलमा कमी वा वृद्धि हुनु।
  • निद्रा कम वा बढी लाग्नु र बिहान उठ्दा ताजा महसुस नहुनु। जिउ भारी र बोधो हुनु।
    यौन चाहना र तुष्टिमा कमी आउनु।
  • कब्जियत हुनु र महिनावारीमा गडबडी आउनु।
  • कतिपय बिरामीमा टाउको, जिउ वा शरीरका अरू भाग दुखिरहने तर शारीरिक परीक्षणमा चित्त बुझ्दो प्रमाण नभेटिने हुनु।

उपचार विधि

डिप्रेसनको उपचार बहुआयामिक हुने गर्छ। यसमा तनावको समाधान, यसको बहन गर्ने क्षमता, सीप र कला अभिवृद्धि गर्ने मनोवैज्ञानिक विधि उपयोगी हुन्छ। अरू व्यक्तिसँग गलत र अनुपयुक्त अन्तरक्रिया र एकआपसको कलह पनि डिप्रेसनको पृष्ठभूमि तयार पार्न सक्छ। डिप्रेसन भएपछि पनि कतिपय बिरामीको अन्य व्यक्तिसँगको सम्बन्धमा चिसोपन आउन सक्छ। अतः यस्ता व्यक्तिको अरूसँगको सम्बन्ध सुमधुर बनाउने र सरसल्लाह अनि सहयोगको वातावरण बनाउने तरिका उपचारको अभिन्न पाटो हुने गर्छ। उदास हुने व्यक्तिहरूको सोच, विचार र व्यवहारमा हाबी हुने विकृतिलाई सुधार गर्ने मनोवैज्ञानिक तरिका पनि बिरामी हेरी आवश्यक पर्न सक्छ।

अहिले बिरामीको लक्षण र आवश्यकता हेरी विविधखालका लक्षण कम गर्ने औषधि पाइन्छन्। रोग निको पार्ने र पछि हुनबाट रोकथाम गर्ने गुण भएका भरपर्दा र सुरक्षित धेरै औषधिको विकास भइसकेको छ। कडा डिप्रेसनमा चिकित्सकको सल्लाहमा बिजुलीको ‘सेक’ दिने उपचार पनि अति उपयोगी र सुरक्षित मानिन्छ। उपचारबाट लक्षण हटेपछि पुनस्र्थापनाका कार्यक्रम आवश्यक हुन्छ।

बिरामी र परिवारले के गर्ने ?

पहिला त, यो रोगलाई बुझ्नु नै ठुलो कुरा हो। परिवारमा कसैलाई डिप्रेसन छ भने ऊप्रतिको समझदारी एकदम आवश्यक हुन्छ। यसका लागि आफूले सत्य तथ्य बुझेर अरूलाई पनि यसबारे बुझाउनुपर्छ। रोगकै हिसाबले यो समस्या भएको छ भने बिना हिचकिचाहट सम्बन्धित चिकित्सक वा विज्ञसँग परामर्श लिनुपर्छ। यसको निदान बिरामीको उपचारका लागि हुने गर्छ, अन्यथा सोच्नु हुँदैन। डिप्रेसनको निदान भएकोमा चिन्ता मानेर बस्नुभन्दा पनि उपचारको उचित उपायतिर लाग्नुपर्छ। सहयोगी साथीभाइ र आफन्तको सल्लाह लिनु बिरामीले आनाकानी मान्नु हुँदैन। सकेको काम, हलुका व्यायाम वा यस्तै कुरामा मन बहलाउने कोसिस गर्नुपर्छ।

विज्ञको सल्लाहमा औषधि आवश्यक मात्रा र अवधिका लागि सेवन गर्नु लाभदायी हुन्छ। बिरामीलाई उपचारका लागि सम्बन्धित स्थानमा लान, उपचार सुरु गर्न, फलोअपमा रहन, ठिक भएपछि पनि पुन: स्थापना गर्न र पछि दोहरिन नदिन परिवारजन र साथीभाइको ठुलो भूमिका रहने गर्छ। परिवारका सदस्यले यस्ता बिरामीको औषधि राखिदिने र सेवनका लागि हौसला दिने गर्नुपर्छ। कतिपय बिरामीले आफैँलाई हानी पुग्ने गतिविधि गर्ने सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउनु जरुरी छ।

रोकथामलाई के गर्ने ?

डिप्रेसनले जसलाई पनि सताउन सक्छ तर खास जोखिम वा खतरा भएका व्यक्तिबारे सावधानी अपनाउनु आवश्यक छ। यसको खतरा भएका व्यक्तिले त्यसै अनुसार आफ्नो जीवनशैली, व्यवहार, आहार, विहार र विचारमा सन्तुलन राख्न सिक्नुपर्छ। स्वस्थ आहार, विहार र विचारले समग्र स्वास्थ्यका लागि लाभ गर्छ भने उदासीन मनोरोगको रोकथाममा पनि सघाउँछ।

डिप्रेसनमा जान नदिन मन र शरीरलाई स्वस्थ राख्नु जरुरी छ। आफू वा परिवारका सदस्य डिप्रेसनमा रहेको कुरा चाल पाएपछि आवश्यक उपचार थाल्न रोगका लक्षण, उपलब्ध उपचार विधि, सेवा सुविधा र अन्य आवश्यक जानकारीबारे सजग रहनुपर्छ। यसले उपचारमा ढिलाइ र उपचार नपाउँदा हुन सक्ने आत्महत्या जस्ता घटना रोकथाममा सहायता पुग्छ। तसर्थ, तपाईंहामी सबैले डिप्रेसनबारे जानकारी भएको लेख पढौँ, जानकार र विज्ञहरूको राय सुनौँ, यसबारे खुलेर कुरा गरौँ र सत्य तथ्य बुझिराखौँ। अरूलाई पनि यसबारे जान्न, सुन्न, बुझ्न र कुरा गर्न प्रेरित गरौँ। डिप्रेसनको समस्यालाई लुकाउने भन्दा पनि यसबारे व्यापक मन्थन थालौँ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.