काठमाडौं, असार ३२: साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन्। प्रहरीसँग असुरक्षित महसुस गर्दै उनले सेनाको सुरक्षा मागेको कारागार स्रोतले जनाएको छ। ‘सुरक्षामा खटिएको प्रहरीलाई टोलाएर हेर्छ। कहिले सुरक्षा नपुगेको भन्दै कराउँछ। केही दिनअघि आफूलाई सेनाको सुरक्षा हुनुपर्ने माग ग-यो। उसले किन यस्तो भनिरहेको छ थाहा भएन,’ कारागार व्यवस्थापन कार्यालयका एक अधिकृतले भने ।
डिप्रेसनमा गोरे
काठमाडौंस्थित केन्द्रीय कारागारको गोलघरमा कैद सजाय भोगिरहेका चूडामणि उप्रेती गोरे केही समयदेखि डिप्रेसनमा गएका छन्। कारागार व्यवस्थापन कार्यालयका अनुसार गोरे कसैसँग नबोल्ने, बोलिहाले पनि बेसुरको कुरा गर्ने, डराएजस्तो गर्ने, एक्लै बस्ने, अनायसै टोलाउने र आँखाबाट आँसु झार्नेजस्ता व्यवहार देखाउने गरेका छन्।
जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि २८ जेठदेखि उनी गोलघरमा छन्। पछिल्ला दिन उनलाई परिवारका सीमित सदस्य र निजी वकिलसँग मात्रै भेट्न दिइएको कारागारले जनाएको छ । कारागार व्यवस्थापन कार्यालयका अधिकृत श्रवणकुमार साहले उप्रेतीमा केही समस्याको संकेत देखिएको बताए । ‘कोहीसँग बोल्न मान्दैन। टोलाएर बसेको देखिन्छ । कहिले रोएकोजस्तो पनि देखिन्छ । पछिल्ला दिनमा परिवारका सीमित सदस्य र वकिलसँग भेट्न दिइएको छ । उनीहरूसँग भेट्दा पनि यस्तै व्यवहार देखाउँछ,’ उनले भने।
गोरेका भाइ पनि पक्राउ
सुन तस्करी प्रकरणमा गोरेका भाइ रमेश उप्रेती पनि पक्राउ परेका छन्। उनी दुबईबाट पक्राउ परेका हुन्। अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को आग्रहमा दुबई प्रहरीले रमेशलाई पक्राउ गरेको हो। रमेश पक्राउ परेको उच्चस्तरीय छानबिन समितिका डिएसपी भीष्म हुमागाईंले पुष्टि गरे। उनले भने, ‘रमेशविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो। उनी पक्राउ परे भन्ने सुनिएको । यस विषयमा हामी बुझ्दै छौँ।’ रमेशलाई नेपाल ल्याउन आवश्यक कागजात मिलाउने काम भइरहेको छ। केही दिनभित्रै उनलाई नेपाल ल्याइने समितिले जानकारी दियो। नयाँ पत्रिकाबाट