डिजेल उत्पादन गर्न प्रयोग गरिने सजिवन खेर जाँदै

रिपोर्ट नेपाल | 2018 Sep 05 | 11:02 am 3254

कञ्न‍चपुर,  भदौ २०: डिजेल उत्पादन गर्न प्रयोग गरिँदै आएको सजिवन वनमा खेर जान थालेको छ ।

शुक्लाफाँटा नगरपालिका–११ श्रीकृष्ण र वसन्त सामुदायिक वनमा रोपिएको सजिवन प्रशोधनबारे जानकारी नहुँदा खेर जान थालेको हो। सजिवन फल डिजेल उत्पादनका लागि ‘क्रिष्टल वायो इनर्जी नेपाल’ कम्पनीसँगको साझेदारीमा सात वर्षअघि ती सामुदायिक वनमा रोपिएको हो। सजिवन उपयोगमा आउन नसक्दा वनमै खेर गएको वसन्त सामुदायिक वनका पूर्वअध्यक्ष टेकबहादुर भण्डारीले बताए।

सजिवन फल प्रशोधन गरी उत्पादन हुने डिजेल बिक्री गरेर २५ प्रतिशत आम्दानी कम्पनीले र बाँकी ७५ प्रतिशत सामुदायिक वनले लिने सम्झौता भएको थियो । “कम्पनीकै सल्लाहमा वनमा सजिवन रोपियो।

अहिले कम्पनीका कर्मचारी सम्पर्कबिहीन भएपछि उत्पादित सजिवन वनमै कुहिएको छ,” उनले भने। उत्पादन भएको सजिवन कतिबेला टिप्ने, पाकेको दानालाई कुन ठाउँमा लगेर बेच्ने तथा प्रशोधन गर्नेबारे जानकारी नहुँदा स्थानीयवासी अन्योलमा छन् । ती दुवै सामुदायिक वनमा ६ हजार सजिवनका विरुवा रोपिएका छन् ।

नर्सरीमा उत्पादित विरुवा वनमा रोपेपछि कम्पनीका प्रतिनिधि सामुदायिक वनको सम्पर्कमा आएका छैनन् । नर्सरीमा झण्डै पाँच लाख विरुवा रहेका छन् । विरुवा उत्पादन गर्न सामुदायिक वनले रु ७० हजार खर्च गरेका छन्। कम्पनीले सामुदायिक वनमै प्रशोधन प्लान्ट राखेर सजिवनबाट डिजेल निकालेपछि बाँकी रहने पिनाबाट सावुन, जैविक मल, मैनबत्ती, वायोग्याँस र लेदोबाट कष्मेटिक वस्तु उत्पादन गर्ने योजना बनाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.