डिएसपी तपनले किन मृत्युको माइकिङ गरे ?

रिपोर्ट नेपाल | 2018 Jul 21 | 08:23 am 2691

काठमाडौँ,साउन ५ : जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिति दयनीय भएपछि सरकारले उनलाई काठमाडौं ल्याउने कसरत स्वरुप कर्णाली प्रदेशका मुख्य मन्त्रीलाई हेलीकोप्टरमा काठमाडौं ल्याउन गत बिहिबार जिम्मा दिएको थियो ।

मुख्य मन्त्री सहितको टोलीलाई स्थानीय जनताले अनशन स्थलमा प्रवेश गर्न नदिएपछि उनी नेपालगञ्ज फर्किएका थिए । अनशनरत डा. गोविन्द केसीलाई कुनै हालतमा काठमाडौं ल्याउने सरकारको रणनीति अनुसार बिहिबार दिउँसो प्रहरीले मृत्युको गलत सूचना फैलाएर भीड नियन्त्रण प्रयास गरेको तथ्य यतीखेर सामाजिक संजालमा भिडियो सहित खुलेको छ ।

केसीलाई लैजान स्थानीयले अवरोध गरेपछि अस्पताल परिसरभित्रै प्रहरीले बल प्रयोग गरेर अस्पताल परिसरभित्र प्रहरीले गरेको माइकिङको अडियो र भिडियो सामाजिक सञ्जालहरूमा जताततै फैलिएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) तपनकुमार दाहालले माइकिङ गर्दै भनेका थिए, ‘हाम्रा एकजना प्रहरी जवानको मृत्यु भएको बताएका थिए । आफ्ना सहकर्मीको मृत्यु भएका कारण क्याजुअल्टी भएको हुनाले हामीले पनि संयमता अपनायौं धेरैबेरसम्म तर अव यो भन्दा अघी बढे बाध्य भएर कार्वाही गर्न हामी बाध्य हुनेछौं ।

प्रहरीको सिनीयर अधिकृतबाट माइकिङ भएको कुरालाई आधार मानेर कैयौं संचार माध्यमहरुले समाचार सम्प्रेषण गरे । डिएसपी तपन दाहालले माइकिङ गर्दै एक जना प्रहरीको मृत्यु भएको भन्ने भनाईको दुई घण्टा नबित्दै बिहीबार साँझ नै प्रहरी प्रधान कार्यालयले मृत्युको तथ्यबारे प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो ।

प्रधान कार्यालयको विज्ञप्तिमा ‘समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार सम्प्रेषण गर्नेजस्तो मानवीय संवेदनाको विषयमा सूचना दिनुअघि आधिकारिक पुष्टि गर्न भनिएको थियो । केहि समय अगाडी आफ्नै मातहतका सिनीयर अधिकृतले गरेको माइकिङलाई प्रधानकार्यालयले बचाउ गर्न खोजेको हो या संचार माध्यमलाई निराधार आरोप लाउन खोजिएको हो त्यसको खोजिनीति हुनु जरुरी छ ।

आफ्नै सहकर्मीको मृत्युको खबर माइकिङबाट डिएसपी तपन दाहालले आफूखुसी सम्प्रेषण गरेकी आदेश अनुसार यस विषयमा प्रधानकार्यालयले संचार माध्यमलाई आरोप लगाउनु भन्दा त्यहाँको वास्तविकता बुझ्नु जरुरी थियो ।

आखिर प्रहरीले आफ्नै सहकर्मीको मृत्यु भएको खबर फैलाएर भीड नियन्त्रण गर्ने स्थिति किन निम्तियो ? जुम्लाका डीएसपीले किन प्रहरीको मृत्यु भएको भन्दै माइकिङ गरे ? अहिले प्रहरी माथि दर्जनौ यस्ता प्रश्न खडा भएका छन् ।

नेपाल प्रहरीको सिनियर अधिकृतले एउटा जीवित कर्मचारीलाई मृत्यु भएको सूचना प्रवाह गरेर त्यस परिवारमा भएको तत्कालको क्षती र मानव अधिकारको कुरालाई प्रहरीले कसरी लिन्छ यस विषयमा पनि सर्वसाधारण जान्न आतुर छन् ।

प्रहरीले भीड नियन्त्रणका बेलामा होस् वा अन्य बेलामा गलत सूचना वा सन्देशको प्रसार गर्नु आचारसंहिताविपरीत र गैरकानुनी कुरा हो । भीड नियन्त्रण वा अन्य कुनै नाममा पनि प्रहरीले गलत सन्देश फैलाउनु उसको विश्वसनीयता माथिको प्रश्न चिन्ह पनि हो ।

भीड नियन्त्रणका बेला आफ्नै सहकर्मीको मृत्युको खबर दिनु त्रुटिपूर्ण भएको नेपाल प्रहरीका सेवा निवृत अधिकारीहरुले समेत बताएका छन् । सन्देशले कार्यस्थलमा खटिएका प्रहरीलाई झनै उत्तेजित बनाउन सक्छ र भीड नियन्त्रणका नाममा अत्यधिक बल प्रयोग हुने खतरा हुने सुरक्षा विद्हरु बताउछन् ।

सुरक्षासँग जानकार भएका व्यक्तिहरुले भिड नियन्त्रणका नाममा यस्तो गलत सन्देश फैलाउँदा फिल्डमा रहेका अन्य प्रहरी कर्मचारीहरु अझ बढी उत्तेजनामा आइ स्थितीले भयावह ल्याउन सक्ने बताउछन् । यसरी गलत सूचना प्रवाह गर्ने अधिकृतसँग भिड नियन्त्रण गर्ने क्षमता नभएको मानिन्छ ।

भिड नियन्त्रण गर्ने क्रममा घाइते भएका प्रहरी जवान कमल आचार्यलाई पात्र बनाएर डिएससपी तपन दाहालले जुन गलत सूचना प्रवाह गरे अव यसको प्रधानकार्यालयले कस्तो विश्लेषण गर्छ बुद्धिजिवि देखि मानव अधिकारवादी, नागरिक समाज देखि सर्वसाधारण जनता जान्न आतुर छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.