डिआइजीले सईलाई लखेटे पनि इनेस्पेक्टरको धन्दा कायमै

रिपोर्ट नेपाल | 2020 Sep 08 | 04:23 pm 1865

झापा, भदौ २३ः प्रदेश नम्बर एकका प्रहरी प्रमुख डिआइजी इश्वरबाबु कार्कीले मरिच र सुपडी तस्करीलाई लाइन दिएको भन्दै सई राजेन्द्र चौहान र दीप बाँनियालाई घुमुवाबाट हटाएर अन्यत्र पठाएको दुई साता पनि पूरा नहुँदै फेरि तस्करी सुरु भएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडका इनेस्पेक्टर डम्बर गिरी र गिरी थरकै भन्सारका सुब्बाको मिलेमतोमा भारतबाट पिकअपमा ल्याएका सामान भन्सार छलि गरी भित्र्याउने गरिएको छ ।

दिउँसो १२ बजे देखि ३ बजेसम्म ल्याइने सामान भन्सार २–४ पोका गरिए पनि प्रति टिप तीस देखि चालीस पोका भन्सार छलि गरेर छिराउने गरेको समाचार स्रोत बताउँछ ।

करिब एक हप्ता दिनदेखि अलि ठूलो संख्यामा हुने भन्सार छलिको सामान दुर्गा भवानी ट्राभलको विजय सिंगलको भएको बुझिएको छ ।

सामानको लाइन मिलाइदिने बंगाली नागरिक कृष्ण साह रहेको समाचार स्रोतले बताएको छ । दिनमा तीन टिपसम्म हुने तस्करी गराए बापत प्रति टिप ३० देखि ४० हजार लिने गरेको स्रोतको दाबी छ ।

सुटिङ सटिङका सामान ल्याउँदा भन्सार गरेजस्तो गरे पनि अत्यन्तै न्यून भन्सार गरिने समाचार स्रोत बताउँछ ।

डिएसपी मुकुन्द प्रसाद रिजाललाई समेत भाग मिलाउनु पर्ने भन्दै इनेस्पेक्टर गिरीले दुई भाग लिने गरेको बुझिएको छ । इनेस्पेक्टर गिरी र भन्सारका सुब्बा नातामा साढु दाईभाई हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.