डा गोविन्द केसीसँग फेरि छलफल गर्ने समितिको निर्णय

रिपोर्ट नेपाल | 2018 Dec 24 | 06:50 pm 1836

काठमाडौं, पुस ९ : संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’का विषयमा डा गोविन्द केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले विधेयकको केही व्यवस्थामा थप स्पष्टता आवश्यक रहेको निष्कर्ष निकाल्दै केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको हो ।

विधेयकको केही प्रावधानमा स्पष्टता ल्याउन पनि केसीसँग एक पटक पुनः छलफल गर्ने निर्णय गरिएको समितिका सदस्य एवम् काँग्रेस सांसद गगनकुमार थापाले जानकारी दिए ।

समितिले सो विधेयक सरकार र केसीबीच भएको सहमति अनुसार अघि बढाउने गरी उपसमिति बनाएर छलफल गरिरहेको छ । सोही छलफलमा उठेका केही विषयमा स्पष्ट हुन समितिले केसीसँग पुनः छलफल गर्न लागेको हो ।

समितिका अर्का सदस्य एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेशकुमार भट्टराईले केसी र सरकारबीच भएको सहमति अनुसार अघि बढ्दा १० वर्षसम्म नै नेपालको कुनै पनि ठाउँमा मेडिकल कलेज खुल्ने अवस्था नरहेकाले सो सम्बन्धमा सम्बन्धित पक्षसँग पुनः छलफल गर्ने निर्णय गर्नु परेको स्पष्ट पारे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.