काठमाडौँ, माघ १८ : प्रहरीले त्रिवि शिक्षण अस्पतालमा प्रदर्शनमा उत्रेका १७ जना चित्सकहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होमीन्द्र बोगटीका अनुसार १७ जनालाई पक्राउ गरिएको हो ।
प्रकाउ पर्नेमा रेजिडेन्ट डाक्टर एसोसियसनका अध्यक्ष डा. सुमित पान्डे तथा डाक्टरहरू विशाल अग्रवाल, अमित शर्मा, अमिर श्रेष्ठ, आकाश शेर्पाली, हेमन्त बास्तोला, आनन्द सिंह, पदम जोशी, बद्री अर्याल, राजन लामिछाने, सिद्धार्थ भन्डारी, उपमा श्रेष्ठ, कविता मानन्धरलगायत केही विद्यार्थी समेत रहेका छन् ।

बिरामी जाँच सेवा अवरुद्ध गरेर उनीहरुले डा केसीको समर्थनमा शिक्षण अस्पतालमा र्याली निकालेका थिए । स्वास्थ्य मन्त्रालयले जनताकाे जीवनसँग जाेडिएका अाधारभूत स्वास्थ्य सेवामा हड्ताल नगर्न चेतावनी दिँदादिँदै पनि डाक्टर हड्ताल तथा आन्दाेलनमा उत्रिएपछि प्रहरी लगाएर सरकारले उनीहरुमाथि धरपकड गरेकाे हाे ।
डाक्टरहरुले सेवा ठप्प पारेपछि काठमाडाैँकाे वीर अस्पताल तथा त्रिवि शिक्षण अस्पताल पुगेका बिरामीहरु बिहानैदेखि लाम बसेर दिक्क बनेका थिए । कतिपय उपचार सेवा नपाइने देखेर फर्किकएका थिए । यद्यपि प्रहरी हस्तक्षेपसँगै बिहानदेखि अवरुद्ध सेवा पुन: सञ्चालन भएकाे अस्पताल प्रशासनले जनाएका छन् ।