डा. केसीका समर्थकद्वारा प्रमलाई एसएमएस र टेलिफोन -‘ हामी कहिलेसम्म अनसन बस्नुपर्ने हो ?’

| 2018 Jul 22 | 03:58 pm 1887

काठमाडौं, साउन ६ : ओली सरकारलाई प्रा. डा. गोविन्द केसीको समर्थनकहरुले टेलिफोन तथा एसएमएसमार्फत ध्यानाकर्षण गराएका छन् । आइतबार वसन्तपुर डबलीमा सुरु भएको सामुहिक सत्याग्रहका सहभागीले प्रधानमन्त्री ओली र सत्तापक्षका शीर्ष नेताहरुलाई टेलिफोन तथा एसएमएसमार्फत ध्यानाकर्षण गराएका हुन्।

सरकारलाई जनउत्तरदायी बनाउनका लागि टेलिफोन तथा एसएमएस गरेर ध्यानाकर्षण गराएको सांसद तथा डा. केसी समर्थक विराज भट्ट श्रेष्ठले बताए।

डा. केसी समर्थक पृतम सुवेदीका अनुसार प्रधानमन्त्री ओलीलाई पहिलो पटक टेलिफोन सम्पर्क गर्दा व्यस्त भएको थियो । दोस्रो पटक प्रयास गर्दा स्वकीय सचिवले उठाएर ‘रङ नम्बर’ भनेका थिए । र तेस्रो पटकदेखि ‘कल डाइभर्ट’ भएको बताए ।

प्रधानमन्त्रीसंग टेलिफोन सम्पर्क नभएपछि उनीहरुले ‘हामीले कहिलेसम्म अनसन बस्नुपर्ने हो ? ’ भनेर एसएमएस गरेका थिए। तर त्यसको उत्तर नआएको उनीहरुको भनाई रहेको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई पनि डा. केसीका सर्मथकहरुले टेलिफोन र एसएमएस गरेको बताएका छन् ।

समर्थकहरुको अनुसार प्रचण्डले कुनैको पनि जवाफ दिएका छैनन् भने शिक्षामन्त्री पोखरेलले ‘जहाँ जसका लागि बस्नुभएको छ, उसैलाई सोध्नुहोस्’ भन्ने जवाफ दिएर बीचैमा टेलिफोन काटेको बताए ।

‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को आयोजनामा आइतबार बिहान १० बजेबाट सुरु भएको सत्याग्रहमा प्राडा केदाभक्त माथेमा, अधिवक्ता ओमप्रकाश अर्याल, कृष्ण पहाडीलगायत नागरिक समाजका अगुवाहरुको समेत सहभागिता छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.