काठमाडौं, असार २९: जुम्लामा १४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार बिहीबार केसीको मुटुमा समस्या देखिएको हो।
बुधबार सामान्य अवस्थामा रहेका केसी बिहीबार निकै सिकिस्त भएको उनका सहयोगी डा. जीवन क्षेत्रीले बताए। डा. क्षेत्री केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि जुम्ला गएका थिए। उनका अनुसार बिहीबार दिनभर केसी बोल्न सकेनन्। मुटुमा समस्या भएका कारण उनको बोलीमा समस्या आएको डा. क्षेत्रीले बताए।
डा. गोविन्द केसीको उपचारमा कठिनाइ भएपछि उपचारमा संलग्न चिकित्सकहरूले एयरलिफ्ट गर्न सल्लाह दिएका छन्। डा. केसीले सल्लाह नमानेका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले चिकित्सकहरू पूजनकुमार रोकाया, धीरज गुरुङ, सिद्धार्थ खाती र नीराजन महासेठले एयरलिफ्ट गर्न सुझाब दिएका हुन्। केसीको जटिल स्वास्थ्य अवस्थाअनुसार आइसियूको आवश्यकता परे पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियू छैन।
माग पूरा गरेर मात्रै काठमाडौं फर्किने केसीको अडान
अनशनरत डा. केसीले माग पूरा नहुँदासम्म जुम्लामै बस्ने बताएका छन्। बुधबार र बिहीबार सरकारले केसीलाई ल्याउने प्रयास गरे पनि उनकै अडानका कारण सरकारी प्रयास सफल हुन सकेन। सरकारले केसीलाई काठमाडौं ल्याएर संवाद गर्ने बताएको छ। तर, जुम्लामा माग पूरा गरेर मात्रै काठमाडौं फर्किने उनको अडान छ । ‘माग पूरा नभएसम्म काठमाडौं जाने मनस्थितिमा केसी हुनुहुन्न,’ डा. क्षेत्रीले भने, ‘त्यसैले सरकारले काठमाडौं लाने भन्ने विषय टाढाको कुरा हो।’
अनशनको ‘डेड लक’ अन्त्य गर्न आग्रह
नेपाल चिकित्सक संघका प्रतिनिधिले नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत विभिन्न पार्टीका शीर्ष नेतासँग भेटेर डा. गोविन्द केसीको आमरण अनशनमा देखिएको ‘डेड लक’ अन्त्य गर्न आग्रह गरेका छन् । ‘हामीले दाहाललाई हाल देखिएको डेड लकको स्थिति अन्त्य गर्न आग्रह गरेका छौं,’ चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले भने ।
उनका अनुसार दाहालले चिकित्सक संघको टोलीकै अगाडि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई फोन गरेर चाँडै निकास निकाल्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीसँग पनि कुरा गरेर निकास निकाल्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ,’ डा. कार्कीले भने।
संघको टोलीले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहसँग पनि डा. केसीको आन्दोलन र मागबारे छलफल गरेको थियो । ‘देउवाले आज (बिहीबार) विधेयक आउने कुरा छ तर हामीले डा. केसीसँग सल्लाह नगरी दर्ता नगर्न सभामुखलाई भनेका छौं भन्नुभयो,’ कार्कीले भने।
उनका अनुसार कांग्रेस शीर्ष नेताहरूले वर्तमान घटनाक्रमप्रति संवेदनशील रहेको जनाउँदै निकासका लागि पहल गर्ने बताएका छन् । विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापा तथा रवीन्द्र मिश्रले पनि चिकित्सक टोलीसँग डा. केसीका माग पूरा गराउन सक्रिय रूपमा लागिरहेको बताएका थिए।