जुम्ला, असार १६: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबारदेखि अनशन बस्ने तयारी गरिरहेका वरिष्ठ चिकित्सक प्रा.डा.गोविन्द केसीको अनसनलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधित क्षेत्र घोषणा गरेको छ ।
गृह मन्त्रालयको निर्देशन अनुसार जुम्ला सदरमुकामका तीन क्षेत्रमा कुनैपनि किसिमको अनशन आन्दोनल तथा नारा जुलुस जस्ता विरोधका कार्यक्रम गर्न नपाउने गरी सूचना जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि करिव २ सय मिटर वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा. केसी अनशन बस्न थालेका हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौपछि पनि एमबीबीएस विद्यार्थी भर्ना सुरु हुन नसकेको र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी गेटा मेडिकल कलेजको प्रगति सुस्त भएको पनि अनशनको विषय छ।