डा. केसीविरूद्ध अनशन बसेका थापालाई पनि सेनाकै हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

रिपोर्ट नेपाल | 2019 Jan 18 | 03:46 pm 2224

काठमाडौं, माघ ४  : चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि आमरण अनशन शुरु गरेका युवा विजय थापालाई आज बिहान थप उपचारका लागि झापाबाट काठमाडौँ ल्याइएको छ । नेपाली सेनाको एनए ००५५ कलसाइन भएको हेलिकाेप्टर आज बिहान १० बजे अनशनकारी थापालाई लिएर चन्द्रगढी विमानस्थलबाट काठमाडौँ ल्याइएको हो ।

इलाममा अर्का अनशनकारी प्रा डा गोविन्द केसीसँगै अनशन बसेका काठमाडौँका विद्यार्थी थापाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र इलाममा उपचार सम्भव नभएको चिकित्सकले बताएपछि उनलाई आज बिहान ३ बजे इलामबाट एम्बुलेन्समार्फत झापा ल्याइएको थियो । झापा ल्याएर उनलाई मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखिएको थियो ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र प्रहरीका जिल्लास्थित उच्च अधिकारी थापालाई काठमाडौँ ल्याउने बेलामा विमानस्थलमा उपस्थित थिए । अर्का अनशनकारी प्राडा केसीलाई चन्द्रगढी विमानस्थलबाट राति नै नेपाली सेनाकै एमआई १७ नाइटभिजन हेलिकाेप्टरमार्फत काठमाडौँ ल्याइएकाे थियो ।

दुवै अनशनकारीलाई जीवनरक्षाका लागि थप उपचार आवश्यक भएको हुँदा सरकारले नै काठमाडौँ लैजाने व्यवस्था मिलाएको हो । दुवैलाई एउटै हेलिकप्टरमार्फत राति नै काठमाडौँ ल्याउने तयारी सरकारले गरेता पनि चन्द्रगढी विमानस्थलमा अनशनकारी थापालाई ल्याउन आधा घण्टा ढिलाइ भएको र त्यहीबेला प्राडा केसीको स्वास्थ्य झन् नाजुक बनेपछि केसीलाई मात्र लिएर सेनाको हेलिकप्टर राति काठमाडौँ ल्याइएकाे थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.