काठमाडौं, साउन ३: २० दिनदेखि अनशनरत डा गोविन्द केसीलार्इ काठमाडौं ल्याउन सरकारले नेपाली सेनाको टोलीसहितको हेलिकप्टर जुम्ला पठाएको छ।
जुम्लामा अनशनरत डा केसीको मुटुमा गम्भीर समस्या देखिएपछि उनलार्इ काठमाडौं ल्याउन लागिएको जनाइएको छ। बुधबार बसको नेकपाको बैठकले सरकार डा केसीको उपचारका लागि संवेदशील हुनुपर्ने भन्दै हेलिकप्टर जुम्ला पठाएका हो।
बिहीबार अबको केही बेरमा शिक्षामन्त्री गिरिराजमणी पोख्रेलले पत्रकार सम्मेलनको आयोजना गर्ने जनाइएको छ। तर, डा केसी भने सरकारले कुनै ठोस निर्णय नगरुन्जेलसम्म उपचारका लिन नमान्ने घोषणा गरेका छन्
मंगलबार राति साढे १२ बजे र बिहान ४ बजे दुई पटक उनको ९ वटासम्म एक्टोपिक बिट्स (मुटुको धड्कनमा गड्बढी) देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।
यस्तै परिस्थिति रहे डा. केसीलाई जुनसुकै बेला सीसीयूमा राखेर उपचार गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालले जानकारी गराएका थिए। उक्त सुविधा अस्पतालमा छैन। दुवै हातका नसामा पनि संक्रमण देखिएको छ। निरन्तर घटिरहेको सेतो रक्तकोशिका र संक्रमणका कारण जोखिम बढेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।
चिकित्सकका अनुसार रगतमा पोटासियम, म्याग्नेजियम र क्याल्सियम निकै कम भइसकेको छ तर डा. केसीले औषधि लिन मानेका छैनन्।
श्वासप्रश्वासमा अझ कठिनाइ देखिएको र चौबीसै घण्टा अक्सिजन दिइरहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार छाती दुख्ने, रिंगटा लाग्ने, मांसपेशी बाउँडिनेलगायत समस्या डा. केसीमा देखिएको छ।