डा केसीलार्इ जबरजस्ती काठमाडौं ल्याउने सरकारी प्रयास विफल

| 2018 Jul 19 | 11:57 am 1953

काठमाडौं, साउन ३: जुम्लामा अनशनरत डा गोविन्द केसीलार्इ जबरजस्ती काठमाडौं ल्याउने सरकारी प्रयास विफल भएको छ।

विगत २० दिन देखि जुम्लामा चिकित्सा शिक्षा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमबीबीएस पढाई सुरु गर्नुपर्ने लगायतका माग राखेर आमरण अनसन बसिरहेका प्राडा. गोविन्द केसीलाई बिहीबार जबरजस्ती गरेर भएपनि उपचारका लागि काठमाडौं ल्याउने तयारी गरेपछि जुम्लामा त्यसको विरोध भएको सरकारी टोली फिर्ता भइसकेको छ।

सरकारको निर्देशनमा डा. केसीलाई लिन नेपालगन्जबाट हेलिकप्टर जुम्ला पुगिसकेको थियो। डा. केसीलाई काठमाडौं लैजाने वातावरण मिलाउन कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी पनि कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए।

उनीहरु अस्पताल परिसर पुगे लगत्तै नाराबाजी गर्दै विद्यार्थीहरुले उनीहरुलाई भित्र प्रवेश गर्न दिएनन्। अस्पताल भित्र विद्यार्थीहरुले प्रदर्शन गरेका थिए भने बाहिर स्थानीय महिलाको अगुवाईमा स्थानीयवासीले नाराबाजी गरेर बाटो बन्द गरेका थिए ।

मुख्यमन्त्री र कानुनमन्त्री विरुद्ध चर्को नाराबाजी भएपछि उनीहरु दुवैजना फर्किएका छन्। उनीहरु फर्किने बाटोमा टायर बालेर स्थानीय अवरोध समेत गरेका थिए।

झडप हुने सम्भावना बढ्दै गएसँगै प्रशासनले अस्पताल परिसरमा सुरक्षाकर्मीको तैनाथी बढाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.