श्रेष्ठलार्इ प्रमले भने, ‘डा केसीलाई भात ख्वाएर ल्याउनुस् अनि मात्र वार्ता हुन्छ’

| 2018 Jul 14 | 05:36 pm 2499

काठमाडौं, असार ३०ः मेडिकल शिक्षा सुधारका लागि अनशनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि आयोजित विरोध  र्‍यालीमा नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री गैरजिम्मेवार व्यवहार गरेको बताए।

उनले र्‍यालीमा बोल्दै प्रधानमन्त्रीलाई डा केसीका माग सम्बोधन गर्न वार्ता समिति गठन गरिदिन आग्रह गरेकोमा प्रधानमन्त्रीले, ‘केसीलाई भात ख्वाएर ल्याउनुस् अनि मात्र वार्ता हुन्छ’ भन्ने किसिमको गैरजिम्मेवार प्रतिक्रिया दिएको गुनासो गरे।

राष्ट्रको सबै समस्या हल गर्छु भन्दै भाषण छोड्दै हिड्ने प्रधानमन्त्रीले राष्ट्रहितका खातिर जीवनमरणको दोसाँधमा रहेका केसीप्रति प्रधानमन्त्रीको दृष्टिकोण शासकभन्दा शोषककोजस्तोे रहेको श्रेष्ठले बताए।

एनले कार्यक्रममा दिएको भाषण जस्ताको त्यस्तै

एउटै उद्देश्य परिपूर्तिका लागि हामी विरोध र्‍यालीमा छौं । यसको अन्तिम उद्देश्य भनेको डा केसीको १५ औं अनशनका लागि गरेको संघर्षलाई टुंगोमा पुर्‍याउन दबाब दिने हो। नेपाल चिकत्सक संघले केही मुठीभर मान्छेको स्वार्थका लागि प्रतिवेदनको मुल मर्मलाई मारेर मेडिकल शिक्षामा व्यापारीकरणको कार्य भएकोप्रति लामो समयदेखि संघर्ष गरिरहेको छ।

हामी डा केसी अनसन बसेको ९ औं दिनमा प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेट्न गयौं। हामीले भन्यौं, तपाईँले एक वार्ता कमिटि बनाइदिनुस र वार्ताको माध्यमबाट समाधान निकालौं। उहाँले भन्नुभयो, ‘म १४ वर्ष जेल बसको मान्छे हो कुनै एक व्यक्तिले हल्लाएर हल्लिदैन।’ म कुनै पनि हालतमा कुनै शक्तिको अघि झुक्नेवाला छैन। म सर्वोच्चको कुरा पनि मान्यवाला छैन। मण्डला निषेधित क्षेत्र घोषणा गरिएको छ, त्यसलाई तोड्ने दिनेवाला छैन।’ हामीलाई लाग्यो, ‘प्रधानमन्त्रीज्यू, पहिलेको राजाभन्दा पनि ठुलो हुनुभएछ।’

तीन करोड नेपाली जनताले भोट दिएर पाँच वर्षका लागि जिताएको गणतन्त्रात्मक मुलुकको प्रधानमन्त्री हो, दुईतिहाइको दम्भले बीचमै चिप्लने अवस्था नआओस। अहिले जुन हिसाबले अध्यायादेश तुहाएर नयाँ विधेयक ल्याउनु भएको छ त्यसले ६० प्रतिशतभन्दा बढी गरीबी भएको मुलुकका जनतालाई कुनै फाइदा गर्दैन। डा केसीका मागले धनीलाई फाइदा गर्दैन ती मागहरुले गरिबलाई सम्बोधन गर्दछ।

डा केसीको स्वास्थ्य अवस्था कमजोर भइसक्यो, वार्ता समिति बनाउनु पर्‍यो भनेर पटकपटक भन्दा ‘भात ख्वाएर ल्याउनुस अनि वार्ता हुन्छ’ भन्ने पनि प्रतिक्रिया दिनुभयो।
जुम्लामा बसेर काठमाडौंमा वार्ता हुदैन भन्ने प्रतिक्रियाहरु आउन थालेका छन्। एक गरीब समाजका लागि मर्न तयार भएका व्यक्तिलाई तानाशाहीको संज्ञा दिइएको छ। अहिले डा केसीको जीवन रक्षाको विषय चुनौतीपूर्ण बन्दै गएको छ।

विरामीको जाँच गर्नुपर्ने डाक्टरहरु सडकमा उत्रिन बाध्य बनाएको यो सरकारले हो। त्यसकारण म आम नागरिक तथा पेसागत संगठनहरुसँग आग्रह गर्न चाहान्छु की हामीले यो बाध्य भएर डा केसीको जीवन रक्षाका लागि आन्दोलनमा उत्रिएका हौं।

हामीले सबै दलका शीर्ष नेताहरुलाई भेटेर डा केसीको जीवन रक्षाका लागि अपिल गरेका छौं। अब एकदुईदिनमा नै निकास भएन भने आकस्मिकबाहेकका सबै सेवा बन्द गर्नेछौं भन्ने कुरा आम बुद्धिजीविहरुले आम नागरिकलाई सम्झाइ दिन आग्रह गर्दछु ।

डा केसीको जीवन रक्षा र गरीबका छोराछोरीले मेडिकल शिक्षा पाउनुपर्ने माग पुरा गर्न सरकार तयार हुनैपर्छ त्यसको दबाबका लागि यहाँहरुको सहयोग अतिआवश्यक छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.