डा केसीलाई निदाउन पनि समस्या, आइसियू अनिवार्य भए पनि जान अस्वीकार

| 2019 Jan 30 | 12:01 pm 1474

काठमाडौं, माघ १६ : २२ दिनदेखि अनशनरत डा. गोविन्द केसी छातीको कडा दुखाइ, श्वास–प्रश्वासमा समस्या र अत्यन्तै कमजोरीका कारण निदाउनसमेत नसक्ने भएका छन्

।चिकित्सकहरूका अनुसार उनको मुटुको चाल अनियमित र मन्द भएपछि तत्कालै आइसियूमा सार्न चिकित्सकले गरेको आग्रह डा. केसीले मानेनन् । कृत्रिम अक्सिजनविना केहीबेर पनि बस्न नसक्ने अवस्था छ । लामो समयको अनशन, इलेक्ट्रोलाइटको असन्तुलन र छातीको कडा दुखाइका कारण उनलाई आइसियूमा राख्नैपर्ने अवस्था आएको चिकित्सकहरूले बताएका छन् ।

रगतमा म्याग्नेसियम, क्याल्सियम, फस्फोरस, पोटासियमको मात्रा निकै कम भएकाले जोखिम झन् बढी छ । सोडियम, क्याल्सियमको कमीले मस्तिष्कमा र पोटासियम र म्याग्नेसियमको कमीले मुटुमा असर गर्छ ।

डा. केसीको शरीरमा चिनीको मात्रा, पोटासियम निकै खस्किए पनि लिन नमानेको उपचारमा संलग्न आइसियू विशेषज्ञ डा. प्रमेश श्रेष्ठले बताए । ‘स्वास्थ्यअवस्था निरन्तर खस्किरहेकाले जुनसुकै वेला के हुन्छ भन्न सकिन्न,’ डा. श्रेष्ठले भने ।

डा. केसीले उपचारसम्बन्धी चिकित्सकका कुनै पनि सल्लाह मानिरहेका छैनन् । पानीका रूपमा सामान्य स्लाइन मात्र लिइरहेका डा. केसीले मुटुको समस्याका लागि केही महिनादेखि नियमित रूपमा खाइरहेको औषधि ‘विटा ब्लकर’समेत लिन मानेका छैनन् । जसले झन् जोखिम बढाएको भनाइ चिकित्सकहरूको छ । विभिन्न अनशनका क्रममा मुटुमा समस्या देखिएपछि डा. केसीको दुईपटक ‘कोरोनरी एन्जियोग्राफी’ गरेर औषधि सुरु गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.