जुम्ला १८ असार : शनिबार दिउँसो तीन बजेदेखि प्रहरी हिरासतमै अनशन बसेका डा। गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उनको उपचारका कुनै कसर बाँकी नराख्नु भनी पत्र काटेको छ । प्रशासनले सोमबार दिउँसो प्रतिष्ठानलाई पत्र पठाएको हो ।
प्रशासनले पत्र पठाए पनि डा।केसीको उपचारमा संलगन चिकित्सकको टोलीले कबर्ड हलमा उनको उपचार गर्न नसकिने बताइसकेको छ । उनलाई उजाड कबर्ड हलमा राखिएको छ । प्रहरीले पक्राउ गरी उनलाई राखेको हलमा पानी, बत्ती, शौचालय लगायतका कुनै पनि सुविधा छैन । उजाड हलमा बन्दी सरह राखिएका डा केसीको उपचार कबर्ड हलमा सम्भव नभएको उपचारका लागि खटिएका डा।प्रविण गिरीले बताए ।
‘यस्तो फोहोर ठाउँमा उपचार गर्न सकिँदैन, हलभित्र दिसा र पिसाबको मात्रै गन्ध आइरहेको छ,’ उनले भने, ‘बत्तीको व्यवस्था छैन, फोहोरैफोहोर भएको ठाउँमा उपचार गर्न सकिँदैन अस्पतालमा लिएमा मात्रै उनको उपचार हुन्छ । प्रशासनले अस्पताल लान दिएको छैन ।’