जुम्ला, १९ असार : अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकिन्सकहरुले कर्णाली प्रदेशका अस्पताल बन्द गरेका छन् ।
अहिलेसम्म पनि सरकारले कुनै सुनुवाइ नगरेको भन्दै डा. केसीको जीवन रक्षाको माग गर्दै अकस्मिक बाहेकका अन्य सबै सेवाहरु ठप्प पारेर चिकित्सकहरु सडकमा उत्रिएका छन् ।
गत शनिबारदेखि अनशनमा रहेका डा। केसीलाई कैदी बन्दी सरह कभर्डहलमा राखिएको भन्दै जुम्लाका चिकित्सकहरु कभर्डहल अगाडि धर्नामा उभिएका छन् । हातमा कालो पट्टी बाँधेर उनीहरु कभर्डहल पुगेका हुन् ।
नेपाल चिकित्सक संघले अनशनरत डा. केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी उपचार गर्न सरकारलाई चौबिस घण्टे अल्टिमेटम दिएको थियो । कर्णाली प्रदेशका १० वटै जिल्लाका अस्पतालहरुले आकस्मिक बाहेकका अन्य सबै सेवाहरु अनिश्चितकालका लागि ठप्प पारेको नेपाल चिकित्सक संघ कर्णाली शाखाका उपाध्यक्ष डा. प्रविण गिरीले बताए ।
‘गुणस्तरीय स्वास्थ्यका अभियान्ता प्रा.डा. गोविन्द केसीको जीवन रक्षाका लागि सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न दिएको २४ घण्टे समयसीमामा पनि स्थानीय प्रशासनको तर्फबाट कुनै पहल नभएकाले हामी आन्दोलित हुन बाध्य भएका हौं,’ उनले भने, ‘मंगलबार बिहानदेखि कर्णाली प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गरेका छौं ।’