काठमाडौं, माघ १७ : एकसाता अघि पारित भएको चिकित्सा शिक्षा विधेयकमा संशोधन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सरकारले लोकतान्त्रिक प्रक्रिया मिचेर जबरजस्ती अघि बढेको बताउँदै सांसद रिजालले वार्ताबाट समाधान नभएसम्म बैठक चल्न नदिने उल्लेख गरे । त्यसपछि कांग्रेस सांसदहरुले उभिएर बैठक अवरुद्ध गरे ।
बिहीबार दिउँसो १ बजेदेखि बसेको बैठकमा बोल्दै कांग्रेस सांसद डा मिनेन्द्र रिजालले चिकित्सा शिक्षा विधेयकमा संशोधन गरी डा. गोविन्द केसीको जीवन रक्षाको वातावरण नभएम्म संसद चल्न नदिने बताए ।
सांसद रिजालले संसदबाट चिकित्सा शिक्षा गलत प्रक्रियाले पारित भएको भन्दै त्यसलाई परिमार्जन गरेर डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताए । ‘गोविन्द केसीको ज्यान रक्षा गर्नुपर्छ, चिकित्सा जसरी यहाँबाट पारित भयो, त्यो गलत भयो, अब त्यसलाई परिमार्जन गरेर गोविन्द केसीको जीवन रक्षा हुने, चिकित्सा शिक्षा सुधार हुने बाटो बन्द नगरौं । राष्ट्रिय सभाले त्यो बाटोले लेओस् भन्ने सत्ताको आग्रह रहनुपर्छ’ उनले भने ।
रिजालले दुई तिहाई बहुमत एउटा निरीह डाक्टर गोविन्द केसीसँग लड्नका लागि हाे ? भन्दै प्रश्न गरे । सरकारले अनशनरत डा केसीतर्फ चासाे नदिएकोमा ध्यानाकर्षण गराउँदै उनको माग पूरा गर्न विधेयक फिर्ता लिनुपर्ने अडान राखेका थिए ।