डा केसीको जीवन रक्षाको माग, कालोपट्टी बाँधेर काम गर्न देशभरका डाक्टरलाई आव्हान

| 2019 Jan 20 | 11:08 am 1545

काठमाडौं, माघ ६: राष्ट्रिय आवासीय चिकित्सक संघ (नेसनल रेजिडेन्ट डक्टर्स एसोसियसन) ले त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रा. डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ।

संघले आइतबार विज्ञप्ति जारी गरी डा. केसीको माग पूरा गरेर उनको अनशन तोडाउन ठोल पहल नभएमा देशभरका आवासीय चिकित्सक कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको हो।

सरकारले आफूसँग गरेको सहमतिविपरीत संसदीय समितिले राष्ट्रिय चिकित्सा विधेयक पारित गरेको भन्दै इलाम गएर १६औं सत्याग्रह थालेका डा. केसीको स्वास्थ्य नाजुक बनेपछि उनलालाई हेलिकाेप्टरमा गत शुक्रबार बिहानै काठमाडौं ल्याइएकाे थियाे।

हाल डा. केसी त्रिवि शिक्षण अस्पतालकाे आईसीयू कक्षमा उपचाररत छन्। निमोनिया भएका डा. केसीमा अक्सिजनको मात्रा कमी, रगतमा गडबडीलगायत विभिन्न स्वास्थ्य समस्या रहेको चिकित्सकले बताएका छन्। रोगसँग लड्ने शक्तिसमेत क्षीण हुँदै गएकाले उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताउँदै आएका छन्।

संघका अध्यक्ष सुमित पाण्डे र सचिव डा. विश्वराज तिमल्सिनाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ– पहिले भएका सहमतिअनुरूप चिकित्सा ऐन पारित गर्न र सत्याग्रहीको मागप्रति गम्भीर भई उहाँको जीवन रक्षा गर्न सरकार र सम्पूर्ण सरोकारवालासमक्ष हामी अपिल गर्दछौं।

डा.केसीको अनशनप्रति ऐक्यवद्धता जनाउँदै संघले सरकारको कदमको विरोधमा देशभरका आवासीय चिकित्सकहरूलाई आइतबार कालोपट्टी बाँधेर काम गर्न आह्वान पनि गरेको छ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै यसअघि १५औं अनशन बसिसकेका डा. केसीले इलाम गएर पुस २५ गते १६औं अनशन थालेका थिए। त्यसको तेस्रो दिनदेखि नै अस्वस्थ भएका डा.केसीलाई इलाम अस्पताल भर्ना गरिए पनि त्यहाँ आईसीयू सुविधा नभएकाले उपचारमा समस्या भएको थियो।

धरानस्थित बीपी प्रतिष्ठानका विशेषज्ञ चिकित्सक टोलीले इलाम पुगेर डा.केसीको स्वास्थ्य जाँच गर्दै तुरुन्त सुविधासम्पन्न अस्पताल नलगिए जे पनि हुन सक्ने चेतावनी दिएपछि उनलाई काठमाडौं ल्याइएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.