गोरखा, साउन ७ : २४ दिनदेअि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षालाई सरकारले पहिलो प्राथमिकता दिएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिन आएका श्रेष्ठले सोमबार पत्रकारसँग कुराकानी गर्दै वार्ताद्वारा खुला ढंगले छलफल गरेर समस्या समाधान गर्ने पहिलो प्राथमिकता रहेको बताएका हुन् ।
उनले पत्रकारसँग कुरा गर्दै उहाँले भने, ‘सरकार बिना पूर्वाग्रह केसीको मागका विषयमा कुरा गर्न आतुर छ, छिटोभन्दा छिटो उहाँको अनसन टुङ्गिने अवस्था बनाउँछौँ’, चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बसेका डाक्टर केसीको मुद्दालाई लिएर राजनीतिकरण भएको प्रति श्रेष्ठले असन्तुष्टि जनाउनुभयो । ‘केसी अनसन बसे पनि नबसे पनि चिकित्सा शिक्षा सुधार गरी स्वास्थ्य सेवालाई सहज, सरल र गुणस्तरीय बनाउनु सरकारको दायित्वभित्र पर्छ’ प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘त्यसका लागि माथेमा कार्यदलको प्रतिवेदनलाई सन्दर्भ सामग्रीको रूपमा लिन सकिन्छ ।’
केसीका सबै माग पूरा हुनै पर्छ भन्ने पक्षमा आफू नरहेको श्रेष्ठले बताए । ‘उहाँले जे-जे भन्नु भएको छ, सबै त्यही गर्ने भन्ने पनि होइन, उहाँले भन्नु भएको केही पनि नगर्ने भन्ने पनि होइन’, श्रेष्ठले भने , ‘सरकारले विवेकसम्मत निर्णय गर्छ ।’ केसीको अनसनभित्रैबाट चलखेल सुरु भएको नेकपा प्रवक्ता श्रेष्ठको आरोप छ । ‘सरकारलाई अप्ठ्यारोमा पार्ने उद्देश्यसहित विभिन्न चलखेल सुरु भएको छ, यसले समस्या समाधान गर्दैन ।’