डा. केसीको गिरफ्तारीप्रति कांग्रेसको कडा आपत्ति

रिपोर्ट नेपाल | 2018 Jul 03 | 09:26 am 3172

काठमाडौँ,असार १९ : चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका अभियन्ता डा। गोविन्द केसीलाई सरकारले जुम्लामा गरेको गिरफ्तारीको नेपाली कांग्रेसले विरोध जनाएको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा आज सोमबार बिहान जारी गरिएको विज्ञप्तिमा संसद्मा उठ्ने प्रश्नमा प्रधानमन्त्रीले हलुका जवाफ दिने, सडकमा गर्ने प्रदर्शनमा निषेधाज्ञा लगाउने, प्रेस जगतमा क्रमशस् हस्तक्षेप बढाउने तथा अनशनमा धरपकड गर्नेजस्ता क्रमिक शृंखलाले सरकारको लोकतान्त्रिक मूल्यप्रतिको विश्वासमा प्रश्न खडा गरेको उल्लेख गरिएको छ ।

‘सरकारका गलत कर्मको विरोध गर्न संसद्, सडक या प्रेसमार्फतको प्रस्तुति विल्कुलै स्वाभाविक हुन्छ भने न्यायोचित माग राखेर गरिने अनशनको सत्याग्रहलाई लोकतन्त्रमा झनै विशिष्ट शैलीका रूपमा लिइने प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता शर्माले जारी गरेको वक्तव्यमा कांग्रेसले सरकार हरेक क्षेत्रमा कि हचुवा शैलीमा, कि निश्चित नियतका साथ प्रस्तुत हुँदै गएको पछिल्लो उदाहरण चिकित्साशास्त्र विधेयक बनेको उल्लेख गर्दै सरकारको अलोकतान्त्रिक चरित्रविरुद्ध आफ्नो पार्टी सडक र संसद्मा उत्रने चेतावनीसमेत दिइएको छ ।

‘सरकारले समयमै सच्चिनु र जिम्मेवार ढंगले अघि बढ्न सुझाव दिनु हाम्रो कर्तव्य हो । तर सरकार गम्भीर बनेन भने संसद्, सडक, प्रेस, सामाजिक सन्जाल र अनशनसमेतको चौतर्फी दबाब झेल्न कठिन हुने चेतावनी दिन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.