-रुद्रदेव पाण्डे
काठमाडौँ, मङ्सिर ७ : डा. कविताराम वाङ्मय प्रतिष्ठानले बालप्रतिभा पुरस्कार र बालसाहित्यकार पुरस्कार प्रदान गरेको छ । राजधानीमा एक कार्यक्रम गरी बाल गायक अशोक दर्जीलाई बालप्रतिभा र एन्जेलिना न्यौपानेलाई बालसाहित्यकार पुरस्कार प्रदान गरिएको हो । त्यसै गरी रमा नेपाललीलाई बालप्रोत्सहन पुरस्कार प्रदान गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता पूर्वउपप्रधामन्त्री वामदेव गौतमको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी तीनै जान बालबालिकालाई पुरस्कार प्रदान गरिएको हो । साहित्यकार रामदेव पाण्डेले संयोजक गरेको सो कार्यक्रमको अध्यक्षता कीर्तिशेष डा. कविताराम श्रेष्ठकी जीवनसँगिनी निशा न्यौपानेले गरेकी थिइन् ।
समालोचक, साहित्यकार डा. रामप्रसाद ज्ञवालीको संयोजकत्वमा समालोचक साहित्यकार डा. देवी नेपाल र साहित्यकार चेतनाथ धमला सदस्य रहेको तीन सदस्यीय बालप्रतिभा तथा बालस्रष्टा छनोट समितिको निर्णयबाट पुरस्कृत बालप्रतिभा तथा बालस्रष्टा छनोट गरिएको थियो ।
कार्यक्रममा कीर्तिशेष कीर्तिशेष डा. कविताराम श्रेष्ठको जीवनशैली तथा कार्यहरुका बारेमा सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष रविचरण श्रेष्ठले बोल्नुभएको थियो भने डा. देवी नेपालले प्रतिभा चयनको आधारसहित कविताराम श्रेष्ठको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो । डा. कवितारामका भतिजा विनय श्रेष्ठले कवितारामको पारिवारिक व्यक्तित्वका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । वामनेता केशवलाल श्रेष्ठ तथा नेपाल टेलिभिजनका अध्यक्ष डा. महेन्द्र विस्टले डा. कविताराममाथि स्मृति प्रवचन दिनुभएको थियो ।
को हुन ? डा. कविताराम श्रेष्ठ संक्षिप्तमा
डा. कविताराम श्रेष्ठको जन्म पूर्वी नेपालको पहाडी रमणीय जिल्ला ओखलढुङ्गाको रामबजारमा माता मनमाया श्रेष्ठ र पिता नन्दराम श्रेष्ठको कोखमा वि.सं. २००४ सालमा भएको हो । कविताराम नामले चर्चित उनको औपचारिक नाम भने राम बहादुर श्रेष्ठ हो । समाज शास्त्रमा स्नातकोत्तर तथा विद्यावारिधी गरेका कविताराम बहुआयामिक प्रतिभाका धनी हुनुहुन्थ्यो । सामाजिक, सांस्कृतिक र साहित्यिक प्रगतिवादी अभियन्ता कविताराम अत्यन्त आत्माभिमानी र वैज्ञानिक प्रगतिवादमा विश्वास गर्ने व्यक्तित्व हो । समाजका विकृति, विसंगति, कुरीति र अन्धविश्वासका कटु आलोचक हुनुहन्थ्यो । डा. कविताराम श्रेष्ठ नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनका एक वरिष्ठ अभियन्ताको नाम हो । अस्वीकृत विचार साहित्यका प्रवर्तक एवं नेपाल टेलिभिजनका पूर्वअध्यक्ष कविताराम जीवनभर कुरीति, कुसंस्कार र सबैखाले विभेदहरुका विरुद्ध लडेका एक योद्धा हुनुहुन्थ्यो । नेपाली बाल साहित्यमा उहाँको ठूलो योगदान रहेको छ । उहाँका बाल उपन्यास, बालकथा, बालचित्रकथा लगायत थुप्रै विधामा कृतिहरु प्रकाशित छन ।



