डलरको भाउ बढ्दा नेपाललार्इ के फाइदा ?

| 2018 Jul 06 | 08:55 am 3398

काठमाडौं, असार २२: एक वर्षअघि असार मसान्तमा एक अमेरिकी डलर बराबर १०२.८६ रुपैयाँ रहेको थियो। अहिले त्यो अवमूल्यन भएर १०९.६८ रुपैयाँ पुगिसकेको छ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ। त्यसैले केही समययता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्य समेत घट्यो।

एक साता अगाडि डलरको तुलनामा भारु हालसम्मकै न्यूनतम विन्दुमा ओर्लियो। त्यतिखेर गत बिहीवार नेपाली रुपैयाँको दर पनि हालसम्मकै उच्च ११०.३८ पुग्यो। त्यसपछि त्यसको भाउ केही सम्हालिए पनि धेरै सुधार हुन सकेको छैन।

विश्वव्यापीकरण, आर्थिक उदारीकरण, आयात-निर्यात, जनस्तरको सम्पर्क र आवतजावत जस्ता विषयका कारण डलरको भाउमा हुने उतारचढावका सोझा असर नेपाली अर्थतन्त्रमा पनि पर्ने गर्छ।

फाइदा
१) निकासी: नेपाली रुपैयाँको भाउ सस्तो हुँदा नेपाली निकासी वा सामानको भाउ अन्तर्राष्ट्रिय आयातकर्ताहरूको निम्ति आकर्षक हुन पुग्छ र निकासीलाई यसले टेवा पुग्न सक्छ। तर नेपालको निर्यात वा निकासी सीमित छ।

राष्ट्र ब्याङ्कको पछिल्लो विवरणमा नेपालले गत १० महिनामा ६६ अर्ब रुपैयाँ चानचुनको मात्र निकासी गर्न सकेको देखिन्छ। त्यसैले निकासीको परिमाण र वस्तु सीमित भएकाले यसबाट हुने फाइदा पनि स्वाभाविक रूपमा सीमित नै हुने देखिन्छ।

२) पर्यटन आय: विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानी बढाइदिन्छ। नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्छ। पर्यटनको योगदान नेपाली अर्थतन्त्रमा बहुआयामिक हुने गर्छ।

देशको विदेशी मुद्रा आर्जनको एक प्रमुख स्रोतमात्र नभई यसले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा ठूलो योगदान पुर्‍याउँछ। लगानी गर्न खोज्नेहरूलाई पनि कमजोर नेपाली मुद्राले केही प्रोत्साहन मिल्न सक्छ।

३) विप्रेषण आय: लाखौँ नेपालीहरू विदेशमा काम गर्छन्। कैयौँले त्यहाँ कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन्। उनीहरूको हकमा डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ।

विप्रेषण आयमा हुने वृद्धिले समग्र अर्थतन्त्रमा राम्रो प्रभाव पर्छ। पछिल्लो दश महिनाको आँकडामा विप्रेषण आय छ खर्ब रुपैयाँ नाघेको देखिन्छ। जबकि रोजगारका लागि जाने कामदारको सङ्ख्या केही घटेको छ। बीबीसीको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.