विराटनगर, फागुन २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई डर–त्रासमा परेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीलाई चन्दा सहयोग नगर्न निर्देशन दिएका छन् ।
नेपाल नगरपालिका संघको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विप्लव कार्यकर्ताको गतिविधिलाई कानूनी रुपमा नियन्त्रण गर्ने निर्णय गरिसकेको जनाउँदै सरकारको निर्णयप्रति सचेत भएर नागरिकको सेवामा लाग्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले आतंककारी, ध्वंसात्मक गतिविधि सञ्चालन गरिरहेकाले सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई कानुनी कार्वाही गर्ने निर्णय लिनु परेको समेत स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपालाई लुटपाट मच्चाउँदै हिंड्ने लुटेराहरुको संज्ञा दिंदै सहन गर्न नसकिने पनि स्पष्ट पारेका छन् । उनले लुटपाटमा संलग्न समूहसँग नडराउन पनि सबैलाई आह्वान गरेका छन् । लुटेरा गतिविधिमा संलग्न जोकोहीलाई सरकारले कानून बमोजिम कार्वाही गर्ने प्रधानमन्त्री ओलीले चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओलीले इमानका साथ काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सचेत गराएका छन् । उनले जनताको विश्वास आर्जन हुनेगरी काम नगर्ने जनप्रतिनिधिलाई फेरि जनप्रतिनिधि हुने अवसर नआउनेतर्फ पनि सचेत गराए ।