डढेलो नियन्त्रण गर्न दस्ता

रिपोर्ट नेपाल | 2022 Mar 20 | 08:17 am 1225

बर्दिया, चैत ६: जंगलमा लाग्ने डढेलो नियन्त्रण गर्न बर्दियामा दस्ता निर्माण गरिएको छ। डढेलोले हरितगृह ग्यास वायुमण्डलमा थुप्रिँदा बर्सेनी पृथ्वीको तापक्रम बढ्दो क्रममा छ। औद्योगीकरणले उत्पादित कार्बनको मार खेपिरहेको वायुमण्डमा वन डढेलोको धुवाँले चुनौती थप्ने गर्छ। कार्बन संचितिको भण्डार मानिने हरियो वनमै डढेलोको जोखिम बढेपछि संरक्षण क्षेत्रमा चिन्ता बढेको छ।

बर्दिया डढेलोको जोखिम जिल्ला मानिन्छ। ४० प्रतिशत वनक्षेत्र रहेको यहाँ निकुञ्ज, संरक्षित क्षेत्र, मध्यवर्तीलगायत सामुदायिक वन छन्। गत वर्ष बर्दियाको अधिकांश जंगल क्षेत्रमा वनमा डढेला लागेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममा संरक्षण अधिकृत डा. रवीन कडरियाले बताए। बर्दिया राष्ट्रिय निकुञ्जको ९६८ वर्गकिलोमिटर क्षेत्रमध्ये कर्णाली र बबई नदी तटीय क्षेत्रबाहेक निकुञ्जका सबै क्षेत्रमा डढेलो सल्कियो। डढेलोले कार्बनडाइअक्साइड लगायतका ग्यास उत्सर्जन गर्छ। जसले पृथ्वीको तापक्रम बढ्दै जलवायु परिवर्तनमा भूमिका खेल्छ। डढेलोले साना वन्यजन्तु र वनस्पतिलाई समेत नोक्सानी पुर्याउँछ। बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले भन्छन्, ‘डढेलोबाट उत्पादित हरितगृह ग्यासले पृथ्वीको तापक्रम बढाउन मद्दत पुग्छ। डढेलो नियन्त्रणका लागि निकुञ्जले प्रयास गरिरहेको छ।’ समुदायमा डढेलोविरुद्ध सचेतना, वनपथ, घाँसेमैदान, अग्नीरेखा सरसफाइ अभियानअघि सारिएको छ।

निकुञ्जमा मात्र होइन बर्दियाका सामुदायिक वन क्षेत्र पनि डढेलोबाट मुक्त छैनन्। गत वर्ष बर्दियाका २ हजार १ सय हेक्टर सामुदायिक वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयका सूचना अधिकृत द्रोणराज शर्माले बताए। बर्दिया डढेलो प्रभावित जिल्ला भएकाले डढेलो नियन्त्रण गर्न दस्ता पनि तयार गरिएको उनले बताए। वनक्षेत्रमा पतझड सरसफाइ, फायर लाइन निर्माण गर्दै पतझड संकलन गरी प्राङ्गारिक मल उत्पादन गरिएको छ।

बर्दियामा डढेलोबाट वन जोगाउन अभियान सुरु गरिएको छ। डिभिजन वन कार्यालय बर्दियाले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ (फेकोफन) बर्दियासँगको सहकार्यमा सचेतनात्मक कार्यक्रम सुरु गरेको छ। डढेलोबाट मानव वन्यजन्तुको क्षतिसँगै पर्यावरणीय क्षतिसमेत हुने डिभिजका प्रमुख वन अधिकृत प्रवीण बिडारीले बताए। उनले भने, ‘डढेलो नियन्त्रणमा समुदायको तदारुकता जरुरी छ। त्यसैले वन जोगाउन सामुदायिक वनका उपभोक्ताहरूको अहम भूमिका रहेकाले सबै मिलेर वनलाई डढेलो मुक्त पार्नुपर्छ।’ वनलाई डढेलो मुक्त गर्न सके मानव वन्यजन्तुलगायत पर्यावरणको अस्तित्व जोगिने भएकाले वन जोगाउन सबैको हातेमालो हुनुपर्ने प्रमुख बिडारीको भनाइ छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.