रुकुम(पश्चिम), साउन २०: लगातारकाे वर्षाका कारण ठूलीभेरी नदीले आठबिसकोट नगरपालिकामा तीन घर बगाएको छ । नगरपालिकाकाे वडा नं– ६ स्थित मनकाबगरमा ठूलीभेरी नदीले ३ घर बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले दिएकाे जानकारी अनुसार स्थानीय ४५ वर्षीय पत्रे बोहरा र ४५ वर्षीय भीमबहादुर बोहराको घर बगाएको बताए ।अर्को घर धनीको भने पहिचान खुल्न बाँकी रहेको छ ।
त्यस्तै अन्य आठ घर ठूलीभेरी नदीको उच्च जोखिममा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । जोखिममा परेका घर एक हप्ता अगाडि नै प्रहरी र स्थानीयको सक्रियतामा खाली गरिएका कारण अन्य क्षति भने हुन नपाएको उनको भनाइ छ ।
जोखिममा रहेका आठ घर पनि खाली गरिएको छ । घर बगेका तथा घर जोखिममा परेका स्थानीय अन्यत्रमा शरण लिएर बसिरहेको उनले बताए । लगातारको वर्षाका कारण नदीको प्रवाह बढेकाले नदीले कटान सुरु गरेको स्थानीयको भनाइ छ ।