ठडिँदै धरोहर

रिपोर्ट नेपाल | 2022 Jun 13 | 08:18 am 1269

काठमाडौं, जेठ ३०: धरहरा उद्घाटन भएको एक वर्ष भइसकेको छ। तर, अझै पूर्णता पाउन सकेको छैन। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसको अवसर पारेर गत वर्षको वैशाख ११ गते धरहराको उद्घाटन गरेका थिए। त्यतिबेला सर्वसाधारणका लागि दसैं–तिहारमा धरहरा खुला गरिने घोषणा पनि गरियो। तर, आगामी दसैंसम्म पनि पुनर्निर्माण सम्पन्न नहुने देखिएको छ। भवन विभागले धरहराका केही बाहिरी र केही भित्री संरचना निर्माण गर्न अझै एक वर्ष लाग्ने जनाएको छ।

सात वर्षअघि २०७२ वैशाख १२ गतेको महाभूकम्पले धरहरा ढलेको थियो। धरहराको लगानीतर्पm भने स्तम्भ र स्तम्भमा राखिएको सुनको गजुरको गरी ३ अर्ब ४८ करोड २१ लाख बजेट छुट्ट्याइएको थियो। धरहरा टावरको काम पूरा भए पनि भित्री संरचनाको केही भाग र संरचनाको काम सम्पन्न हुन अझै एक वर्ष जति समय लाग्ने भवन विभागले जनाएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको स्वामित्व भवन विभागलाई जिम्मा लगाइसकेको छ। भवन विभागका आयोजना निर्देशक कोषनाथ अधिकारीले भने, ‘करिब ६५ प्रतिशत काम मात्र सकिएको थियो। यस हिसाबले पनि धरहराको पुनर्निर्माण सकिन अझैं एक वर्ष जति लाग्छ।’ बाहिरी संरचनाका काम बेसमेन्ट, म्युजियम, पार्किङको काम, प्रशासनिक भवन निर्माण बाँकी नै छ। निर्देशक अधिकारीले धरहराको भौतिक प्रगति ७४ प्रतिशत र वित्तीय प्रगति ६४.०७ प्रतिशत रहेको जानकारी दिए।

भवन विभागका इन्जिनियर गोपाल भट्टराईका अनुसार भित्री संरचनाअन्तर्गतको मेकानिकल, इलेक्ट्रिकल र एसीलगायतका काम सम्पन्न हुने चरणमा छन्। रंगरोगन पनि भइरहेको छ। लिफ्ट सुरुमै जडान गरिए पनि त्यसलाई फिनिसिङ भर्खरै सकिएको छ। सिसा, भर्‍याङको काम पनि प्रोसेसको चरणमा छ। झ्याल ढोका निर्माणको काम बाँकी नै छ।

भूकम्प गएको सात वर्ष बितिसक्दा पनि एकतिहाइ सम्पदाको पुनर्निर्माण हुन अझै बाँकी छ। भूकम्प क्षति भएका ९ सय २० सम्पदामध्ये ६ सय ६ वटाको पुनर्निर्माण भएको छ। २ सय ८८ वटा सम्पदाको पुनर्निर्माण जारी छ। राष्ट्रिय सम्पदा पुनर्निर्माण प्राधिकरणको कार्यकाल सकिएपछि उसले सम्पादन गर्दै आएका बाँकी काम सम्बन्धित मन्त्रालय, विभाग र निकायमा हस्तान्तरण भइसकेका छन्। २०७२ सालको भूकम्पका कारण देशभरका विश्व सम्पदा सूचीमा सूचीकृत १ सय ७० सांस्कृतिक धरोहरहरूमा क्षति पुगेको पुरातत्त्व विभागसँग तथ्यांक छ। भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३ (२) अनुसार प्राधिकरणको कार्य क्षेत्र भूकम्पबाट अति प्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लाहरूमा थियो।

भूकम्पले क्षति पुगेको सात वर्षभन्दा बढी भइसक्दा पनि अझै धेरै सम्पदाको कुनै काम अघि बढेको छैन। सम्पदा पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न सम्बद्ध निकायहरूले इच्छाशक्ति नदेखाएका कारण भन्दा पनि स्थानीय गुठी, उपभोक्ता समिति र सम्पदा मैत्री ढंगले मिलाएर पुनर्निर्माण गर्नुपर्ने बाध्यताका कारण पनि कतिपय सम्पदाको पुनर्निर्माण अघि बढ्न नसकेको काठमाडौं ट्रस्ट प्रिर्जभेसनका नेपालका प्रतिनिधि रोहितकुमार रञ्जितकारले बताए। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.