काठमाडौं, माघ २१ः ठगी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १५, स्वयम्भूका ४८ वर्षीय पंचमान महर्जन रहेका छन् ।
उनले कालिमाटी स्थित साईनिङ् स्टार सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार ४ सय ७८ रुपैंयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो संस्थाका पदाधिकारीहरु र संचालकहरुलाई आर्थिक लाभ हुने गरी तोकिएको प्रयोजन वाहेकको ब्यापारिक कारोबार र आफन्तका नाममा जग्गा खरिद गरी ठगी गरेका थिए ।
उक्त संस्थाका लेखा समिती संयोजक समेत रहेका महर्जनले ऋण प्रवाह तथा असुली गर्दा त्रुटी गरेकोले ठगीमा संलग्न भएको ठहर गर्दै सम्मानित काठमाडौं जिल्ला अदालतले मिति २०७३ असार १९ मा महर्जनलाई ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले महर्जनलाई मिति २०७८ माघ २० गते काठमाडौं महानगरपालिका १५, स्वयम्भूबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज मिति २०७८ माघ २१ गते सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यूरोले जानकारी दिएको हो।