स्याङजा, फागुन २४ : आफूसँग रहेको घरजग्गा पास गरिदिने प्रलोभन देखाई धेरै जना व्यक्तिबाट रकम ठगी गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–३ घर भई फेदिखोला गाउँपालिकास्थित इलाका हुलाक कार्यालयमा हल्कारा पदमा कार्यरत ४४ वर्षीय महेन्द्र नेपाल र उनकै श्रीमती ४० वर्षीया संगी ता नेपाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङजाका अनुसार उनीहरुले विभिन्न व्यक्तिबाट ३९ लाख बीस हजार ठगी गरेको बताएका छन् ।
उनीहरुले नगरपालिका–३ मा महेन्द्र नेपालको नाममा रहेको घरजग्गा पास गरिदिने भनी प्रलोभन देखाई आठ जना व्यक्तिबाट विभिन्न समयमा रकम लिई देखाएको जग्गा अर्कै व्यक्तिको नाममा राजीनामा पास गरी ठगी गरेकाले पीडित मञ्जु गोदार तथा अन्यले प्रहरीमा किटानी जाहेरी दिएसँगै प्रहरीले दम्पतीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए ।
पक्राउ परेका उनीरुले विभिन्न मितिमा स्याङजाको फेदिखोला गाउँपालिका– २ की मञ्जु गोदारबाट पन्ध्र लाख, सावित्री दर्जीबाट तीन लाख ३० हजार, चुनुमाया गोदारबाट तीन लाख ५५ हजार, वेदप्रसाद गौतमबाट तीन लाख, कृष्ण महत थापाबाट चार लाख ६० हजार, दुर्गाकुमारी खत्री खड्काबाट सात लाख, रुकुमको मुसिकोट नगरपालिका– १ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–८ मा डेरा गरी बस्ने रेशम रावलबाट दुई लाख ७५ हजार गरी कूल ३९ लाख २० हजार लिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
पक्राउ परेका दम्पतीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।