ट्र्याक्टर दुर्घटना हुँदा सिन्धुलीमा एकको मृत्यु, तेह्र घाइते

रिपोर्ट नेपाल | 2020 Feb 09 | 09:04 am 1520

सिन्धुली, माघ २६: जिल्लाको दुधौली नगरपालिका–४ मा रहेको डकाहा चकमके सडकखण्डको टोड्केमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तेह्र जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दुधौली नगरपालिका–१, गिचियानीका ७० वर्षीय ब्रमहलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार दुधौली नगरपालिका वडा नम्बर १, टोड्केपानी जङ्गलबाट दाउरा लिएर डकाहातर्फ जाँदै गरेको लु ८३ त ६८९० नम्बरको ट्र्याक्टर ब्रेक फेल भएर शनिबार दुर्घटनामा परेको थियो ।

दुर्घटनामा दुधौली नगरपालिका १, गिचियानी बस्ने ५२ वर्षीय राम भरोसा, ४८ वर्षीय राम कुमर र २२ वर्षीय शुक्ला धामीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय ५० वर्षीय दबु धामी, २२ वर्षीय दिपेश पुरी, ३० वर्षीया सीता धामी, १५ वर्षीया मीरा धामी, २० वर्षीया सुनिता चौधरी, २० वर्षीया मनिषा कुमर, २८ वर्षीया कुमारी कुमर, १२ वर्षीय लक्ष्मण कुमर, ३२ वर्षीय रामकुमार कुमर र ट्र्याक्टर चालक ३० वर्षीय कुलबहादुर तामाङ घाइते भएका छन् ।

घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.