काठमाडाैं, मंसिर १६ः काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं महानगरपालिका संगको समन्वयमा काठमाडौं महानगरपालिका अन्तरगतका ८९ ओटा सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा दिन बिहीबारबाट सुरु गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार बालबालिकामा ट्राफिक सचेतना अभिवृद्दि गराउने उद्धेश्यले कक्षा संचालन गरिएको बताए । सचेतना कक्षामा बाटोमा हिँडदा र वाटो काट्दा ध्यान पुर्याउनु पर्ने कुराहरु एवं सडक सुरक्षा सम्बन्धी आधारभुत कुराहरु सम्बन्धामा जानकारी गराईनेछ ।
काठमाडौं महानगरपालिका अन्तरगत रहेका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालयको एसेम्बलीको समयमा ट्राफिक नियम सम्वन्धी सचेतना कक्षामा सहभागी गराइनेछ । त्यसपश्चात विद्यालयसंगको समन्वयमा थप सचेतना कक्षाहरु संचालन गरि ईच्छुक विद्यार्थीहरुलाई ट्राफिक स्वंसेवकका रुपमा समेत परिचालन गरिनेछ ।
बिहीबार काठमाडौं नक्साल स्थित श्री नन्दीरात्री माध्यमिक विद्यालय, श्री केन्द्रीय बहिरा माध्यमिक विद्यालय, श्री कमल आधारभुत विद्यालय, महाराजगंज स्थित श्री शिवपुरी माध्यमिक विद्यालय र, बानेश्वर स्थित श्री रत्नराज्य माध्यमिक विद्यालयमा अध्ययनरत १ हजार ९ सय ३० जना बालबालिकालाई सचेतना कक्षा दिएको छ ।
बम्पर गार्ड नहटाउने ५७४ सवारी ट्राफिक प्रहरीको कारवाहीमा, साथै तिव्र गतिमा सवारी चलाउनेलाई सचेतना कक्षा
बम्पर गार्ड नहटाएका ५ सय ७४ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिहीबार कारवाही गरेको छ । सवारी साधनमा जडान गरिएको फलामको बम्पर गार्डले गर्दा बम्परमा जडान भएका एयर ब्यागको सेन्सरले काम नगर्ने हुँदा
चालक तथा यात्रुको ज्यान जोखिममा परेको साथै सवारी दुर्घटना हुँदा बम्फर गार्डका कारण पैदल यात्रुलाई बढीक्षति हुने भएकोले यसलाई हटाउन लागिएको हो ।
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीकार्यालयमा २०७९ मंसिर ९ गते आयोजना गरिएको पत्रकार सम्मेलन मार्फतमंसिर १४ गतेभित्र सवारी साधनमा राखीएको बम्फर गार्ड हटाउन
भनि जानकारी गराइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
उनका अनुसार बम्पर गार्ड नहटाएका सवारी साधनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ उपदफा १ अनुसार कुनै पनि सवारी साधनको रङ्ग, स्वरूप, सिट सङ्ख्या, इन्जीन तथा चेसिस परिवर्तनको कसुरमा कारवाही गर्नेछ ।
यस्तै प्रवक्ता भट्टका अनुसार बिहीबार देखि नै तिव्र गतिमा सवारी साधन चलाउने चालकलाई सचेतना कक्षामा सहभागी गराइएको छ । आ.व. २०७८/०७९ मा काठमाडौं उपत्यकामा भएका सवारी दुर्घटनाहरु मध्ये ३५% भन्दा बढी दुर्घटना तिब्रगतिका कारण भएको एवं सोहि आ.व.मा सवारी दुर्घटनामा १९१ जना को मृत्यू भएकोमा सो मध्ये ५४ जनाको मृत्यू तिब्रगतिमा सवारी साधन चलाएको कारणले भएको थियो ।
तिव्र गतिमा सवारी साधन चलाउदा जिउधनको जोखिम बढेको तथ्याङकलाई आधार मानी
तिव्र गतिमा सवारी साधन चलाउने चालकलाई कारवाही गरी सचेतना कक्षामा समेत सहभागी गराइएको हो । यस अघि ट्राफिक प्रहरीले लेन उल्लघनको कसुर, रेड लाइट र मादक पदार्थ सेवनको कसुरमा चालकहरुलाई सचेतना कक्षा लिदै आएको थियो ।
बिहीबार काठमाडौंको किर्तिपुर, एयरपोर्ट, गठ्ठाघर,सानेपा र भक्तपुरमा गरिएको चेकिङका क्रममा तिव्र गतिमा सवारी साधन चलाउने ९२ जना सवारी चालकलाई कारबाही पनि गरिएको छ ।