ट्राफिक नियम उल्लङ्घन गर्नेलाई खाजा र चकलेट !

| 2018 Sep 06 | 06:31 pm 2358

चितवन, भदौं २१ : गाडी सानो होस् वा ठूलो चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), गाडीधनी पुर्जालगायत कागजपत्र साथमा राख्नुपर्ने नियम छ । गाडीको अवस्था चुस्त हुनुपर्छ । ट्राफिक नियम पालना गरी चलाउनुपर्छ । नियम पालना नगरे कारबाही भोग्नुपर्छ ।

अचेल छड्के जाँच गर्न जुनसुकै समय र ठाउँमा प्रहरी बस्छ। त्यसरी बस्ने टोलीले भेटे कारबाही स्वरूप जरिवाना तिर्नुपर्छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना भए/नभएको चेक गर्न प्रहरीले छडे जाँच थाल्यो। ट्राफिक नियम पालना नगर्ने चालकहरू एकपछि अर्को भेटिए। तर, योपटक प्रहरीले कारबाहीका लागि जरिवाना तिर्न भन्दै रसिद काटेन। नियम मिच्नेहरूले चकलेट पाए। अनि ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमको हातबाट गुलियो खाजाको पोका पनि साथै पाए।

‘थाहा पाएर पनि नियम पालना नगर्ने भनेको लापरबाही हो। जरिवाना नै काट्नुपर्ने हो। तर तपाईंहरूलाई लज्जाबोध होस भनेर चकलेट बाँडेका हौं,’ ट्राफिक प्रमुख गौतम चालकहरूलाई सम्झाउँदै थिए। गल्ती पनि गर्ने गुलियो खाजा पनि पाउने, यस्तो किन? इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख दयानिधि ज्ञवाली भने, ‘कहिले-काहीं मीठो तरिकाले पनि नियम सम्झाउँ भनेर हो नि। अरू बेला कारबाही नै हुन्छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.