ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, डुबेर बालकको ज्यान गयो

रिपोर्ट नेपाल | 2018 Jul 04 | 10:52 am 3361

लहान,असार २० : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराति ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ३ ख ३३२५ नंको मालबाहक ट्रकमा सोही दिशाबाट आएको को ९ प ७८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका–९, रुपनगर निवासी १७ वर्षीय किसन यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी स्थानीय अरबिनकुमार यादव गम्भीर घाइते भएका र उहाँको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

खाल्डोमा डुबेर बालकको मृत्यु

यसैगरी, पानी जमेको खाल्डोमा डुबेर सिरहाको विष्णुपुर गाउँपालिका–१, खोरिया टोलमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय जिनिस यादवको दुई वर्षीय छोरा आशिषकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, विष्णुपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.