काठमाडौं, फागुन ८ : ट्याक्सीमा छुटेको लाखौं मुल्य बराबरको विभिन्न गरगहना ट्याक्सी चालकले प्रहरीलाई बुझाई सम्बन्धीत व्यक्तिलाई जिम्मा लगाएको छ ।
आज बुधबार बिहान काठमाडौं अनामनगरदेखि नैकापसम्म ट्याक्सीमा यात्रा गर्ने क्रममा बा.२ ज २२७९ नम्बरको ट्याक्सीमा ती सुनका गहना छुटेको थियो ।
काठमाडौं थापागाउँ बस्ने गुल्मी बाझकटेरी–३ घर भएकी २८ वर्षीया वसन्ता भुषालको करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल प्रहरीले सम्बन्धीत धनीलाई बुझाएको छ ।
उक्त ट्याक्सीमा सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, पिजाडा टप १ जोडी, बेरुवा रिङ १ जोडी, औंठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थान गरी उक्त रूपैयाँ बराबरको धनमाल ट्याक्सीमा छुटेको थियो ।
सामान आफ्नो ट्याक्सीमा छुटेको थाहा पाएपछि ट्याक्सी चालक काठमाडौं भिमसेनगोला बस्ने सुनसरी धरान उपमहानगरपालिका–१९ चौकीवारीका ३८ वर्षीय सिमल राईले इमान्दारीपूर्वक महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ल्याई बुझाएका थिए । त्यसपछि प्रहरीले सामान धनीकी बहिनी २४ वर्षीया सोनिया भुषाललाई हस्तान्तरण गरेको हो ।