ट्याक्टरमै जन्म दिइन् एक महिलाले शिशुलाई

रिपोर्ट नेपाल | 2019 Dec 21 | 08:46 pm 1661

कपिवस्तु, पुस ५: जिल्लाको विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी एक महिलाले ट्याक्टरमा नै बच्चा जन्माएकी छन्।

सुत्केरी ब्यथा लागेपछि अस्पताल ल्याउने क्रममा ती महिलाले ट्याक्टरमा नै बच्चा जन्माएकी हुन्।

शनिबार बिहान विजयनगर गाउँपालिका–५ कि उर्मिला कोइरीलाई सुत्केरी ब्यथाले च्यापेपछि परिवारले घरमा रहेको लु ३ त २४४८ नंको ट्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदै गर्दा उनले ट्याक्टरमा नै छोरा जन्माएकी हुन्। उक्त स्थानमा कुनै पनि एम्बुलेन्स उपलब्ध छैन्।

ट्याक्टरमा असहज तरिकाले करीब १५ किलोमिटरको दूरी पार गरी चन्द्रौटा ल्याउँदै गर्दा बाटैमा बच्चा जन्मिएको हो। चन्द्रौटा होटल अगाडि बीच शहरमा उनले बच्चा जन्माएकी हुन्।

गाउँमा एम्बुलेन्स नहुँदा ट्याक्टरमा ल्याउँदा जाडोयाममा बाटैमा बच्चा जन्मिएको उनले बताइन्।

गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकाले आफूले डेलिभरी गराउन शिवराज नगरपालिकाको चन्द्रौटामा ल्याउनुपरेको परिवारले बताएका छन्।

गाउँपालिकाले हालसम्म एम्बुलेन्स खरीद नगर्दाको आफू जस्तै गाउँपालिकाका अरु बासिन्दाले पनि पीडा भोगिरहेको छ, स्थानीवासी कलम कोरीले बताए ।

भगवानको कृपाले मेरो बुहारी र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ नत्र यस्तो समस्यामा जे पनि हुनसक्थ्यो। आफूहरु गरिब भएको र स्थानीय तहले एम्बुलेन्सका लागि कुनै पहल नगर्दा समस्या भएको उनको भनाइ छ।

विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरिद र सञ्चालनका लागि प्रयास र पहल भने नगरेको होइन।

यो आर्थिक वर्षमा एम्बुलेन्स खरिदका लागि १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। यो वर्ष दातृ निकायबाट सहयोग प्राप्त भयो भने दुई वटा एम्बुलेन्स सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.