टीकाअघि चिटिक्क बन्दै काठमाडौं- सबै शक्तिपीठमा विशेष सरसफाइ जारी

| 2023 Oct 16 | 07:29 am 1777

काठमाडौं, असोज २९ । काठमाडौं महानगरपालिकाले दशैँमा दर्शनार्थीको भीड लाग्ने राजधानीका सबै शक्तिपीठमा विशेष सरसफाइ गरेको छ । कामना वातावरण व्यवस्थापन विभागले शक्तिपीठलगायत महानगरभित्रका सबै क्षेत्रमा विशेष सफाइ शुरू गरेको जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत परिचालित एक सय र कामपाको जनशक्तिले शक्तिपीठलगायत सबै क्षेत्रमा सफाइ शुरू गरेको हो ।

राजधानीमा दशैँको नवमीमा एकदिन मात्र खुला रहने तलेजु परिसर, गुहेश्वरी, भद्रकाली, मैतीदवी, शोभा भगवती, नक्साल भगवती, नरदेवी, संकटा, महांकाल, डिल्लीबजार कालिका मन्दिर रहेका छन् । त्यसबाहेक हनुमानढोका दरबारक्षेत्रभित्र रहेका सबै सम्पदा, पचलीलगायत देवीदेवताको मन्दिरमा सफाइ गरेको छ ।

विभागले २६ गतेबाट शुरू गरेको सफाइ कार्यक्रम नवमीसम्म सञ्चालन गर्नेछ । विभाग प्रमुख रविनमान श्रेष्ठले सबै शक्तिपीठमा सफाई शुरू गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘शक्तिपीठका अलावा, सडक, सम्पदा, विभिन्न स्थानको मठमन्दिर, गल्ली, टोल, बहाल, बहीलगायत सबै क्षेत्रमा विशेष सफाइ जारी राखेका छौं ।’

सफाइ अभियानमा वडा कार्यालय, टोल सुधार समिति, क्लब, समूहलगायतको सहभागिता रहेको छ । कामपाका मेयर बालेन्द्र साहले दशैं लक्षित विशेष सरसफाइ अभियान सञ्चालन गर्न निर्देशन दिएपछि विभागले विशेष सरसफाइ शुरू गरेको हो । कामपाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सय र त्यतिकै संख्यामा महानगर र निजी फोहोरमैला व्यवस्थापन गर्ने संस्थाले सफाइ शुरू गरेको हो ।

‘हामीले तालिका बनाएर सफाइ अभियान सञ्चालन गरेका छाैं –विभाग प्रमुख श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार २७ गते जमरा घर, भद्रकाली, भोटेवहाल, पिपलबोट, असन, स्वयम्भु, कालिकास्थान, भोटाहिटी क्षेत्र सफाइ सम्पन्न गरेको छ । त्यसअघि गुह्येश्वरी, संकटा, तलेजु र दरबारक्षेत्रमा सफाइ गरेको थियो । हिजो आइतबार सानो गौचरण, पचली, पुतलीसडक, भद्रकाली, महांकाल, टुँडिखेल, हाँडीगाउँ क्षेत्र सफा गरेको छ ।

विभागले दशैँको नवमीसम्म काठमाडौंलाई चिटिक्क बनाउने गरी विशेष सफाइ कार्यक्रम शुरू गरेको जनाएको छ । विभागीय प्रमुख श्रेष्ठका अनुसार सबै शक्तिपीठमा जेड मेसिन लगाएर सफा गरेका हौं । उहाँले राजधानीलाई धुलोरहित बनाउने योजनाअनुसार दशैँलक्षित विशेष सफाइ शुरू गरेको जानकारी दिनुभयो ।

अभियानमा ४ वटा ब्रुमर, त्यतिकै संख्यामा जेड मेसिन, २ वटा ट्रिपर र आवश्यकताको आधारमा अन्य सामग्री प्रयोग गरी सफाइ जारी राखेको छ । विभागीय प्रमुख श्रेष्ठले दैनिक १२ घण्टा काम गर्ने गरी अभियान सञ्चालन गरेको बताउनुभयो । प्रधानमनत्री रोजगार कार्यक्रमअन्तर्गत सय जनालाई ८ र विभागका कर्मचारीलाई १२ घण्टा काम गर्नेगरी व्यवस्थापन गरेको प्रमुख श्रेष्ठले बताउनुभयोे ।

अभियानअन्तर्गत झार उखेल्ने, टुकुचा, विष्णुमती, वागमतीलगायत नदी किनारा सफा गर्ने, नाली सफा गर्ने, पखाल्ने, टिपनटापन मुख्य क्रियाकलाप हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका जनशक्तिले दैनिक ८ घण्टा काम गरेवापत ६ सय ६८ रुपियाँ पारिश्रमिक पाउँछन् । उनीहरूका लागि १ सय दिनको काम सुनिश्चित गरिएको छ । विभागले विशेष सफाइ कार्यक्रमअन्तर्गत दैनिक करिब २ ट्रिपर फोहोर संकलन हुन गरेको जनाएको छ । (नेपाल समाचारपत्रबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.