टाठाबाठा धनी बन्दैमा शान्ति कल्पना गर्न सकिँदैनः अध्यक्ष प्रचण्ड

रिपोर्ट नेपाल | 2018 Sep 19 | 02:59 pm 1923

काठमाडौँ, असोज ३ : पुर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकांश जनतालाई गरीबीमा राखेर केही टाठाबाठाको समृद्धिले मात्रै सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न नसकिने बताएका छन् ।

चीनमा रहेका अध्यक्ष दाहालले अन्तराष्ट्रिय शान्ति दिवसका अवसरमा चीनको च्याङ्सु प्रान्तको नानजिङमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दा उक्त कुरा बताएका हुन् ।

चीनमा आयोजित विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गरौँ भन्ने विषयको कार्यक्रमलाई सम्बोधन गर्दा अध्यक्ष प्रचण्डले जलवायु परिवर्तन र गरीबीको चुनौतीलाई सम्बोधन नगरेसम्म दिगो शान्ति र वास्तविक सुरक्षा सपनामै सीमित रहने उल्लेख गरेका थिए ।

मानव सुरक्षालाई जलवायु परिवर्तनले वास्तवमै चुनौती खडा गरिदिएको बताउँदै अध्यक्ष प्रचण्डले विश्व वाष्पीकरण, मरुभूमीकरण तथा पानीको अभाव र अन्य रुपमा देखिएका जलवायु परिवर्तनका असरका कारण विभिन्न क्षेत्रमा द्वन्द्व देखिन थालेको बताएका छन् ।

सुरक्षाका विषयमा बोल्दै अध्यक्ष प्रचण्डले शान्ति र सुरक्षाका लागि सम्मानित जीवनको प्रत्याभूति एउटा पूर्वशर्त भएको बताउँदै त्यसको आधार समावेशी, समानता र दिगो विकास भएको उल्लेख गरेका थिए । गरीबी एउटा अत्यन्तै डरलाग्दो चुनौती भएको प्रष्ट्याउदै अध्यक्ष दाहालले लाखौँ मानिस अहिले पनि गरीबीको रेखामुनि रहन बाध्य भएको बताएका छन् । लाखौँ मानिस केही दशकयता गरीबीको रेखाबाट बाहिर आए पनि धनी र गरीबबीचको खाडल फराकिलो बन्दै जाँदा अशान्तिको खतरा बढेको उनको भनाई रहेको थियो ।

विश्व शान्ति र सुरक्षाका लागि मिलेर विकास गर्ने र समृद्ध हुने महत्वलाई अन्तर्राष्ट्रिय समुदायले व्यापकरुपमा आत्मसात् गर्नु एउटा खुसीको विषय भएको उल्लेख गर्दै उनले भने, यसलाई व्यापक रुपमा स्वीकारिएको छ, कि शान्तिबिना विकास हुँदैन र विकास बिना शान्ति हुँदैन । हामी भन्न सक्छौ कि तुलनात्मक रुपमा हामी विश्वको शान्तिपूर्ण अवधिमा छौं।

दिगो शान्ति र सुरक्षा तथा सुव्यवस्था प्राप्तिका लागि मुलुक मनैदेखि मिलेर लागिरहे पनि केही मुद्दाहरु सामूहिक प्रयासबाट पनि समाधान हुन बाँकी रहेको उनको भनाइ रहेको छ ।

आफ्नो मन्तव्यको लामो समय गरिबी र त्यसले ल्याएका चुनौतीको विषयमा समय खर्चेका अध्यक्ष दाहालले विश्वव्यापीकरणले ल्याएका चुनौतीको पनि सँगै सामना गर्न परिरहेको बताए । यसो भन्दैमा निराश भइहाल्ने स्थिती नरहेको भन्दै अध्यक्ष दाहालले एउटा देशमा भएको प्रविधिको विकास र अन्वेषणले विश्वभरिका मानिसको जीवनलाई सहज बनाइदिएको छ । विश्वको एउटा भागमा भएको तीव्र र दिगो आर्थिक विकासले बाँकी विश्वका लागि समृद्धिको आशा जगाएको पनि उनको कथन छ ।

विश्वको एउटा भागको शान्ति र स्थिरताले विश्वको अर्को भागलाई त्यही दिशामा धकेल्न प्रोत्साहित गरेको उल्लेख गर्दै न्युयोर्क वा साङ्घाईको शेयरबजारमा हुने उतारचढावले विश्व अर्थतन्त्रलाई तरङ्गित बनाउने गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.