टमाटरले उचित मूल्य पाएन

रिपोर्ट नेपाल | 2023 Apr 29 | 07:48 am 1085

बाँके, वैशाख १६ः बाँकेको खजुरा गाउँपालिका–२, ‘ए’ गाउँका अगुवा किसान लालबहादुर खत्रीको बारीमा यतिबेला लटरम्म टमाटर फलेको छ । बारीभरि टमाटर छ भने गोदाममा पनि टिपेको टमाटर राखिएको छ तर बजार मूल्य नपाएपछि खत्रीले बारीमा टमाटर फालेर विरोध जनाएका छन् ।

“बारीमा करिब ३५० क्विन्टल टिप्नलायक टमाटर छ,” खत्रीले भने, “घरको गोदाममा २०/२५ क्विन्टल टमाटर छ । बिक्री नभएपछि बारीमा फाल्न बाध्य भएका छौँ, टमाटरको मूल्य नपाए पनि खेतबारीमा मल त होला भनेर बारीमा टमाटर फाल्न बाध्य भएका हौँ ।” खत्रीले करिब तीन बिघा जमिनमा तरकारी खेती गरेका छन् । जसमध्ये यस समयमा अधिकांश टमाटर लगाइएको छ । खत्रीसहित सीतापुरका अन्य किसानको पीडा पनि उस्तै रहेको छ ।

भारतबाट भित्रिने विषादीयुक्त तरकारीका कारण स्थानीय उत्पादनले बजार र मूल्य नपाएको भन्दै खत्रीले स्थानीय सरकारले समन्वय नगरेको बताए । लागत मूल्यसमेत नआउने गरी प्रतिकिलो टमाटर १०/१२ रुपियाँमा समेत बिक्री नभएको खत्रीको भनाइ छ । यसबाट लागत उत्पादनसमेत नउठ्ने खत्रीको भनाइ छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.