झापामा ५ सयभन्दा बढीलाई डेंगु

रिपोर्ट नेपाल | 2019 Sep 16 | 06:41 pm 1494

सुरुंगा, भदौ  ३० : तीन महिनाअघि देखा परेको डेंगु झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगु नियन्त्रणमा आउन नसकेको हो ।

झापामा अहिले पनि ५०० भन्दाबढी डेंगु रोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । बिरामीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले डेंगु नियन्त्रणका लागि गत वर्ष कार्यक्रमहरु आएपनि यस वर्ष कुनै कार्यक्रम नआएको बताए । स्थानीय तहले डेंगु नियन्त्रणका लागि चासो दिनुपर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयसँग कुनै पनि नगरपालिका तथा गाउँपालिकाले सहयोग नमागेको पौडेलले बताए ।

डेंगु कारण झापामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । झापामा डेंगु पहिलोपटक मेचीनगरमा फेला परेको थियो । झापाका मेचीनगर, बिर्तामोड, दमक, भद्रपुर लगायतका नगर डेंगुको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.