झापामा सुरु भयो व्यावसायिक स्याउ खेती

रिपोर्ट नेपाल | 2019 Aug 30 | 03:08 pm 2054

झापा, भदाै १३ :  पहाडी तथा हिमाली क्षेत्रको अति चिसो ठाउँमा फल्ने स्याउ तराईको गर्मी भनेर चिनिने झापा, गौरादहका एक किसानले फलाएका छन् ।गौरादह– २ का किसान भीमबहादुर खड्काले आफ्नै जग्गामा स्याउ फलाएका हुन् ।

आफ्नो घर छेउमा करीब एक बिघा खेतलाई माटोले पुरेर डाँडो बनाई ड्याङ बनाएर लगाएको स्याउ फलाएको खड्काले बताए । पहिलोपटक उत्पादित यस वर्षको स्याउ केही बिक्री गर्नसमेत उनी सफल भएका हुन् ।

खड्काले बारीमा २०० वटा स्याउका बिरुवा लगाएका छन् । परीक्षणका रूपमा पहिलोपटक स्याउको बिरुवा रोपेर हेर्दा फल लागेपछि उनको परिवारसहित गाउँले पनि दङ्ग परेका छन् । स्याउको बिरुवा रोप्ने समयमा स्याउ फलेर खान पाइन्छ भन्ने कसैले विश्वास गरेका थिएनन् ।

बिरुवा रोपेको एक वर्षपछि फल फल्ने विश्वास गरेपनि उनले लगाएका  स्याउ आठ महीनापछि नै फल्न थालेको हो । दाजुलाई उपचार गराउन भारतको हरियाणा गएको समयमा त्यस क्षेत्रमा स्याउ फलेको देखेपछि आफूलाई पनि स्याउखेती गर्ने प्रेरणा आएको खड्का बताछन् । हरियाणाको तीव्र गर्मीमा पनि फलेको स्याउ देख्दा आफ्नो बारीमा पनि स्याउ फलाउन सकिने आत्मविश्वास बढेपछि बिरुवा लगाएको उनले बताए ।

हरियाणामा फलेको स्याउका बारेमा आफूले जानकारी लिँदा थाइल्याण्डमा लगाइने स्याउ गर्मी मौसममा समेत फल्ने थाहा पाएपछि सोहीअनुसार आफूले खेती शुरु गरेको खड्काले बताए । स्याउले विस्तारै राम्रै उत्पादन दिए भने थप खेती विस्तार गरिने उनको सोचाइ छ । करीब ५० डिग्री तापक्रमसम्ममा फल्न सक्ने ‘रोयल रेड’ जातको स्याउ खानमा पनि स्वादिलो भएकाले यसबाट राम्रो मुनाफा निकाल्न सकिने उनको भनाइ थियो ।

“सोचेभन्दा अगाडि नै स्याउ फलेपछि थप १५० बिरुवा लगाउने लक्ष्य राखेको छ, राम्रोसँग फल दिएमा कलमी गरेर बिरुवा उत्पादन गर्ने सोच छ”, खड्काले भने ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.