झापा, जेठ २५: शनिबार दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरादह नगरपालिका ५ का ३० वर्षीय टेकनाथ घिमिरे रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त दुर्घटना परी गौरदाह नगरपालिका ५ की ३१ वर्षीया यमुनादेवी न्यौपान दमक नगरपालिका १५ का २० वर्षीय जीवन भण्डारी, दमक नगरपालिका ९ का २३ वर्षीय कर्म उराउ घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पातलमा उपचार भइरहेको जनाइएको छ ।
झापाको बिर्तामोडमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १२ प ६३३७ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट जाँदै गरेको मे १० प ५१९९ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । ६३३७ नम्बरको मोटरसाइकलले को १ च ८२१९ नम्बरको कारलाई ओभरटेक गर्न खोज्दा अर्को मोटरसाइकलसँग ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ६३३७ नम्बरको मोटरसाइकल चालक घिमिरेको मृत्यु भएको हो ।