झापा, फागुन ९ : पूर्वराजा ज्ञानेन्द्र शाह झण्डै एक महिनादेखि झापामा छन् । पूर्वराजा शाह पत्नी तथा पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित झापाको हिमालय टि गार्डेनमा आराम गरिरहेका छन् ।
उनको पूर्वयात्रासंगै नेपाली राजनीतिमा केही न केही हलचल ल्याएको छ। ‘मुलुकमा बढिरहेको बेथिति र राजनीतिक घटनाक्रमलाई उहाँले नियाँलिरहनु भएको छ’, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने,‘केही समयपछि भित्रि मधेसको पनि भ्रमणको तयारी भइरहेको छ ।’
राजनीतिक खिचातानीका कारण जनमानसमा वितृष्णा पैदा भैरहेको समयमा पूर्वराजाले भने आफ्नो माहौल बनाउन खोजेको कतिपयको आशंका छ ।
बाराको सिमरा हुँदै तराईका विभिन्न जिल्ला छिचोलेर स्थलमार्गबाट दुई साताअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा आइपुगेका थिए ।
जनतासँग प्रत्यक्ष भेटघाट र छलफलका लागि पूर्वराजाले सुनसरी, सप्तरी, सिरहा, धनुषालगायतका जिल्लाको भ्रमण तयारी गरेका छन् । शिव सेना प्रमुख बस्नेतका अनुसार आउने सातादेखि उक्त भ्रमण हुन सक्छन् । सुरक्षा र प्रबन्धका लागि शिव सेनाले आफ्ना जिल्लाका पदाधिकारीलाई निर्देशन पनि दिइसकेको छ ।
यसअघि उनी पश्चिम नेपालको भ्रमणमा गएका थिए । उनले करिब तीन साता पश्चिम नेपालका विभिन्न जिल्लाको भ्रमण गरेका थिए ।